नेकपा एमाले केन्द्रीय समितिको वैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको वैठक आज बस्दैछ । वैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

पार्टी संगठनका गतिविधि बढाउने स्थानीय पार्टी कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढाउनेलगायतका विषयमा छलफल केन्द्रित हुने उहाँले जानकारी दिनुभएको छ । आजको बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति समेत सार्ने तामाङले जानकारी दिनुभएको छ ।

कात्तिक–मंसिरमा चुनावको मिति घोषणा भैसकेको र फागुनमा स्थानीय चुनाव गर्नुपर्ने अवस्था रहेकोभन्दै उहाँले पार्टीको महाधिवेशनको मिति फेरबदल हुने सम्भावना रहेको बताउनुभयो ।

यसअघि नेकपा एमालेले मङ्सिर २ देखि ६ मा दशौं महाधिवेशन गर्ने मिति तय गरेको थियो । सो मितिलाई ०७९ जेठ सम्म सार्ने सम्भावना रहेको पार्टी स्रोतले जानकारी दिएको छ ।

आजको वैठकमा माधव नेपाल समूहलाई समेत बोलाइएको छ । यद्यपी नेपाल समूहले वैठकमा भाग लिने नलिने एकिन भइसकेको छैन ।

Back to top button