सप्तकोशीमा नदिको वहाव यस वर्षकै उच्च

विराटनगर । निरन्तरको वर्षासँगै सप्तकोसी नदीको बहाव उच्च भएको छ । आज विहान ६ बजे पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । जुन यस वर्षकै उच्च हो ।

गएराति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक मात्रै थियो । उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव रातभरमा २४ हजार नौ सय ९५ क्यूसेक बढेको हो ।

बेला–बेला बढ्ने र घट्ने भइरहेको अवस्थामा विहान भने बहाव एक्कासी बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । वहाव बढेसँगै कोसी ब्यारेजका ५६ वटा ढोका मध्ये २८ वटा ढोका खुला गरिएको छ ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह

पानीको सतह बढ्दा कोसी किनारमा बसोबास गरिरहेका स्थानीयको घरहरु डुबानमा पर्न थालेको प्रहरीले जनाएको छ । पहाडी तथा तराई क्षेत्रमा वर्षा जारी रहेका कारण कोसीको बहाव अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले पानीको सतह अझै बढ्नसक्ने भएकाले सप्तकोसी क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताउनुभएको छ । वर्षा निरन्तर भइरहेकाले अझै बढ्दै जानसक्ने भएकाले नदी नजिक बसोबास गरिरहेकालाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको उहाँले जानकारी दिनुभएको छ ।

यस्तै सम्भावित जोखिमलाई मध्येनजर गर्दै उद्धारका लागि नेपाल प्रहरीसहितका सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बजाइन्छ ।

Back to top button