बेल्जियमलाई पराजित गर्दै इटली सेमिफाइनलमा प्रवेश

काठमाडौं । बेल्जियमलाई पराजित गर्दै इटली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा इटलीले बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मनीको म्युनिकमा सम्पन्न खेलमा इटलीका लागि निकोलो बरेला र लरेन्जो इनसिग्नेले गोल गरे । बेल्जियमका लागि रोमेलु लुकुले एक गोल फर्काए । इटलीले अब फाइनल पुग्न स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १३औं मिनेटमै इटलीका लियोनार्दो बोनुचीले गोल गरेका थिए । तर भिएआरले अफसाइड भएको भन्दै गोललाई मान्यता दिएन । तर इटलीले धेरै समय कुर्नुपरेन । ३१औं मिनेटमा निकोलो बरेलाले मार्को भेराटीको पासमा गोल गर्दै इटलीलाई अग्रता दिलाए ।

४४औं मिनेटमा लरेन्जो इनसिग्नेले गोल गर्दै इटलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटायो ।

इटलीका जिओभानी डि लरेन्जोले जेरेमी डुलाई धकेलेर लडाएपछि बेल्जियमले पेनाल्टी पाएको हो । जसमा रोमेलु लुकाकुले सहजै गोल गरे । दोस्रो हाफमा बेल्जियमले बराबरी गोल फर्काउने खोजेपनि सफल हुन सकेन ।

Back to top button