पत्नी हत्या आरोपमा घिमिरे पक्राउ

विराटनगर । बेलबारी नगरपालिका ७ बाहुनीका ५६ वर्षीय अम्बिका घिमिरेलाई पत्नी हत्या आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको छ । घिमिरेलाई ४८ वर्षीया पत्नी सीता घिमिरेको शुक्रबार राती हत्या गरेको आरोपमा पक्राउ गरेको हो ।

अम्बिका शुक्रबार राती मादक पदार्थ सेवन गरी घर आउँदा पत्नी सीतासँग विवाद भएको जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । विवादको रीसइबी साँधेर बसेका अम्बिकाले राती २ः३० बजे सुतिरहेकी सीताको बायाँ कञ्चटमा काठको मुंग्रोले ४÷५ पटक प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।

‘सीताकै सिरानी मुनी मुंग्रो लुकाएर अम्बिका फरार भएका थिए,’ मुकारुङले भन्नुभयो, ‘बिहान ५ बजे बुहारीले सीतालाई उठाउन जाँदा सिरानी र ओछ्यान रक्तामय देखेपछि हल्ला गरेकी थिइन् ।’

तत्काल इलाका प्रहरी बेलबारीको टोली घट्नास्थल पुगेर अनुसन्धान थालेको र शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उहाँले बताउनुभयो ।

फरार भएका अम्बिकालाई प्रहरीले खोजी गर्ने क्रममा गाउँबाटै पक्राउ गरेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको मुकारुङले बताउनुभयो ।

Back to top button