माओवादीद्वारा सोमबार चौंथो दिनपनि प्रदेशसभा बैठक अबरुद्ध

विराटनगर । प्रदेश १ का विपक्षी दल माओवादी केन्द्रले प्रदेशसभा बैठक सोमबार चौंथो दिनपनि अबरुद्ध गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटको भौतिक पूर्वाधार क्षेत्रको विषयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा गत आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सदनमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउ“दै माओवादी केन्द्रले अबरुद्ध गर्दै आएको हो ।

उपसभामुख सरस्वती पोखरेलले सदन सुचारु गर्ने बित्तिकै माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले आ–आफ्ना सिटबाट उठेर सदन अबरुद्ध गरेका थिए । सदन अबरुद्ध गरेपछि उपसभामुख पोखरेलले पटक पटक बस्न आग्रह गर्दासमेत नबसेपछि मंगलबार दिउँसो १ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको हो ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले मन्त्री गुरुङले सदनमा आत्मालोचनासहित माफी माग्नु पर्ने, सदनको रेकर्डबाट उनको भनाई हटाउनु पर्ने र बजेट संशोधन गर्न लागेको विषय सदनमा प्रष्ट पार्नु पर्ने माग गरेका छन् ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहनकुमार खड्काले विनियोजन विधेयकको भौतिक पूर्वाधार विषयको छलफलमा भाग लिदै मन्त्री गुरुङलाई कमिशन खानेलगायतको आरोप लगाउँदै आलोचना गर्नुभएको थियो ।

Back to top button