युरोकप फुटबल : पहिलो सेमिफाइनलमा इटली र स्पेन भिड्दै

विराटनगर। जारी युरोकप २०२० को पहिलो सेमिफाइनल खेल आजराति इटली र स्पेनबीच हुँदैछ ।

लण्डनस्थित वेम्वली मैदानमा नेपाली समय अनुसार आज राति १२ः४५ बजे पहिलो सेमिफाइनल खेल सुरु हुनेछ । आजको खेल निकै प्रतिष्पर्धात्मक हुने अपेक्षा फुटबलप्रेमीको छ । युरोकपको यस संस्करणमा इटली र स्पेन दुवै अपराजित टीम हुन् ।

समूह चरणमा टर्की र स्वीट्जरल्याण्डलाई समान ३–० ले हराएको इटलीले वेल्सलाई १–० ले पराजित गरेको थियो । अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराएको इटलीले क्वाटरफाइनलमा विश्व नम्बर एक बेल्जियमलाई पनि २–१ ले नै पराजित गरेको थियो ।

यस्तै समूहको पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि पोल्याण्डसँग पनि १–१ को बराबरीमा रोकिएको थियो । समूहको अन्तिम खेलमा स्लोभाकियालाई ५–० ले पराजित गरेको स्पेनले क्रोएसियालाई ५–३ ले पराजित गरेको थियो ।क्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्पेन सेमिफाइनल पुगेको हो ।

जर्मनीसँगै सर्वाधिक ३ पटक युरोकप जितेको स्पेन यसपटक उपाधि जित्दै सबैभन्दा सफल टिम बन्न चाहन्छ । स्पेनले १९६४, २००८, २०१२ उपाधि जितेको थियो । इटलीले भने सन् १९६८ मा एक पटक मात्र उपाधि जितेको छ । त्यसैले यसपटक हरसम्भव उपाधि जित्ने ध्याउन्नमा इटली देखिएको छ ।

पहिलो पटक युरोपको ११ देशमा आयोजना भएको युरोकपको अब बाँकी तीन खेल वेम्वली मैदानमा हुनेछ । जहाँ करीब ६० हजार दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ ।

Back to top button