कोभिड १९ प्रतिकार्यका लागि सबै पालिकामा जनस्वास्थ्य निरीक्षक खटाइदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिड १९ प्रतिकार्यका लागि मुलुकभरिका ७ सय ५३ वटै स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक खटाउने लागेको छ । कोभिड १९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ ल्याएर सरकारले सबै पालिकामा खटाउन लागेको हो ।

प्रतिकार्यका लागि सरकारले काठमाडौँ महानगरपालिकामा ७ र अन्य महानगरपालिकामा ५÷५, उप–महानगरपालिका ३÷३, नगरपालिकामा २/२ र गाउँपालिकामा १/१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने कार्यविधिमा व्यवस्था छ ।

कोभिड प्रतिकार्यमा खटिने जनस्वास्थ्य अधिकृतले ३७ हजार ८७० रुपैयाँ तलव र ५० प्रतिशत अर्थात् १८ हजार ९३५ रुपैयाँ जोखिम भत्ता गरी कुल ५६ हजार ८०५ रुपैयाँ पारिश्रमिकसमेत कार्यविधिले तोकेको छ ।

प्रतिकार्यमा खटिएका अधिकृतको जीवन बीमाका साथै संक्रमित हुँदा सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने कार्यविधिमा भनिएको छ । जनस्वास्थ्य अधिकृतहरुले स्थानीय तहमा संक्रमण रोकथामका लागि गतिविधि सञ्चालन, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट टे«सिङ, स्क्रिनिङ, हेल्थ डेस्क, क्वारेन्टिन, आइसोलेशन, उपचार, सञ्चार गतिविधिहरु सञ्चालन गर्ने कार्यविधिमा व्यवस्था छ ।

जनस्वास्थ्य निरीक्षकले स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना संकलन गरी विश्लेषण गर्ने र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेस गर्नुपर्ने समेत कार्यविधिमा भनिएको छ ।

कार्यविधिमा जनस्वास्थ्य निरीक्षकहरुको कार्यावधि तत्काल एकवर्ष हुने र महामारीको अवस्था हेरेर कार्यावधि थप गर्ने व्यवस्था छ । स्थानीय तहमा कार्यरत दक्ष तथा योग्य जनशक्ति अपुग भएको अवस्थामा करारमा भर्ना गरेर खटाउने कार्यविधिमा उल्लेख छ ।

मुलुकभरि पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा हालसम्ममा संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ ।

Back to top button