कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरीकाको फाइनलमा

विराटनगर । कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिना कोलम्बियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि भने उसले ब्राजिलसँग खेल्नेछ । ब्राजिल यसअघि नै पेरुलाई हराउँदै फाइनलमा पुगिसकेको छ । विहान ब्रासिलियामा सम्पन्न खेल १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो । पेनाल्टीमा कोलम्बियाको तीन प्रहार इंग्लिस क्लब एष्टोन भिल्लाका गोलरक्षक मार्टिनेजले रोकेका थिए ।

पेनाल्टी शुटआउटमा कोलम्बियाका जुहान क्वार्डाडो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले आ–आफ्नो टोलीबाट पहिलो प्रहार गरेका थिए । दुवैले गोल गरे । दोस्रो प्रहारमा दुवै टोलीका खेलाडीले गोल गर्न सकेनन् ।

अर्जेन्टिनाका रोड्रिगो डी पाउल र कोलम्बियाका ड्याभिन्सन सान्चेसको प्रहार विपक्षी गोलरक्षकले रोकिदिए । त्यसपछि अर्जेन्टिनाका लिन्द्रो पारेडेस र लौटारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका यारी मिना र इडविन कार्डोनाको प्रहार मार्टिनेजले रोकिदिए । अन्ततः अर्जेन्टिना ३–२ गोलले विजयी बन्यो ।

निर्धारीत शुरुवाती खेलको सातौं मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले उपलब्ध गराइदिएको पास उपयोग गरी लाउटारो मार्टिनेजले शानदार गोल गर्दै टीमलाई अग्रता दिलाए । दोस्रो हाफमा सुधारिएको कोलम्वियाले ६१ औं मिनेटमा बराबरी गोल फर्कायो ।

इडविन कार्डोनाको लामो पास सदुपयोग गरी लुइस डियाजले काउन्टर एट्याकमार्फत कठिन एंगलबाट गोल गरे । प्रतियोगिताको नियमअनुसार ३० मिनेटको अतिरिक्त समय नथपी पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो । फाइनल खेल आइतबार विहान हुनेछ ।

Back to top button