
विराटनगर । जारी युरो कप फुटबलको आज हुने अन्तिम सेमिफाइनल खेलमा इङ्ल्याण्ड र डेनमार्क प्रतिस्पर्धा गर्दैछन् । वेम्बली स्टेडियममा हुने यी दुई देशबिचको दोस्रो सेमिफाइनल नेपाली समय अनुशार राति १२ः४५ बजे सुरु हुनेछ।
आज इङ्ल्याण्ड र डेनमार्क दुवै टीम उपाधि रक्षाको लक्ष्यका साथ मैदान उत्रने भएका छन् । यस खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ।
इङ्ल्याण्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४–० गोलको शानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो। यस्तै राउण्ड अफ १६ मा इङ्ल्याण्डले उपाधि दाबेदार जर्मनीलाई २–० गोल अन्तरले पराजित गरेको थियो। डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।
इङ्ल्याण्ड र डेनमार्कबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा इङ्ल्याण्ड १२ खेलमा जित निकाल्दा डेनमार्कले ४ खेल जितेको छ। दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ।