हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या

हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो ।

प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जानकारी गराउनुभएको छ । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई घृणित, अमानवीय र बर्बर भएको बताउनुभएको छ । जोसेपले मुलुकमा स्थिरता कायम गर्न आवश्यक सबै कदम चालिने बताउनुभएको छ ।

मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँमाथि भ्रष्टाचार र मुलुकको संविधान उल्लंघन गरेको आरोप थियो ।
यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो ।

गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो । मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए । मोइसेले यस वर्षको सुरुआतमा नै आफ्नो हत्या गरी हाइटीमा कू गर्न लागिएको बताउनुभएको थियो ।

लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने र हिंसा भड्किने आशंका गर्न थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Back to top button