लागुऔषध र हतियारसहित पक्राउ

विराटनगर । लागुऔषध र हतियारसहित भारतबाट नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिकलाई विराटनगर जुट मिलको दक्षिण गेटबाट सशस्त्र प्रहरीले बुधबार राती पक्राउ गरेको छ । भारतको जोगबनी नगरपञ्चायत ९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई पक्राउ गरेको हो ।

उहाँको साथबाट कटुवा पेस्तोल, चक्कु, दुई थान मोवाइल, एभिल २९२ र लुपिजेसिक २९५ एम्पुल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तिर्थ पौडेलका अनुसार भारतबाट पैदल हिँड्दै राती साढे १० बजेतिर नेपालतर्फ प्रवेश गर्ने क्रममा डियुटीमा खटिएका सशस्त्र प्रहरीले शंका लागेर चेकजाँच गर्दा पटेलले बोकेको प्लाष्टिकको झोलाबाट लागुऔषध, पेस्तोललगायतका सामग्री बरामद भएको छ । पटेललाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको पौडेलले बताउनुभयो ।

पटेल सीमावर्ती बजार जोगबनीमा बसेर नेपालमा अपराधिक समूहहरुलाई लागुऔषध र हतियार आपुर्ति गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी मोरङले जनाएको छ । पटेलले दिएका सूचनाका आधारमा अपराधिक समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button