लुम्बिनी प्रदेशमा अध्यादेशबाट ल्याइयो बजेट

बुटवल । प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ ।

बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताउनुभएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको छ । असार १ गते प्रदेश सभामा पेश गरेको बजेट जस्ताको त्यस्तै अध्यादेशमार्फत ल्याइएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुशार अध्यादेशबाट बजेट ल्याउनुको कारण आजै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिनेछ । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेश गरेको थियो ।

जसमा चालूतर्फ १४ अर्ब ९३ करोड र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि हिजो सत्ता पक्षले नै प्रदेश सभा बैठक बहिस्कार गरेको थियो ।

यद्यपी सरकारले गएराती चालु अधिवेशन अन्त्य गरि विहान अध्यादेश मार्फत बजेट ल्याएको हो । विपक्षी दलहरुले भने सरकारले संसद छलेर अध्यादेशबाट ल्याएको बजेटको प्रतिवाद गर्ने जनाएका छन् ।

Back to top button