
काठमाडौं । सर्वोच्च अदालतले दोस्रो पटक पुनःस्थापित गरेको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धि पठाएको पत्र पढेर सुनाएपछि शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा बैठक बस्न सांसद, संसद सचिवालयका कर्मचारी, पत्रकारलगायतका ८०१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
यस्तै, आजैबाट राष्ट्रियसभाको पनि नवौं अधिवेशन सुरु हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे बैठक आह्वान गरिएको छ ।