
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने हुनुभएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोज्नुभएको हो ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाउनुभएको छ । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै हुनुहुन्छ ।
यस्तो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिने निश्चित छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।