प्रदेश १ र बागमति प्रदेश सरकारको के होला भविष्य ?

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएसँगै प्रदेश १ र वागमति प्रदेशको भविष्य संकटमा परेको छ । एमालेको ओली पक्षका नेता नेतृत्व्को दुबै प्रदेश सरकारको अस्तित्व संकटमा पर्ने देखिएको हो ।

एमाले नेतृत्वको सरकार ढल्न नदिन बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललगायतका नेताहरुले कार्यदल बनाएरै छलफलमा जट्नु भएको छ । मुख्यमन्त्री पौडेलले पार्टीको सन्तुलन मिलाउन मन्त्रिमण्डल पुनर्गठनदेखि मुख्यमन्त्री छाड्नसम्म तयार रहनुभएको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पनि छलफलमा सहभागी हुनुहुन्छ । एमाले नेतृत्वको सरकार जोगाउन पौडेल पक्षका केशव पाण्डे र दीपक निरौला र अष्टलक्ष्मी पक्षका राजेन्द्र पाण्डे र अरुण नेपाल सम्मलित कार्यदल गठन गरेर छलफल सुरु गरेको हो । नेपाल पक्षका एक जना प्रदेशसभा सदस्यले साथ छोडेपछि पौडेल नेतृत्वको सरकार विघटन हुने अवस्था रहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई नेतृत्वको प्रदेश १ सरकार जोगाउन नेताहरु कसरत गरिरहेका छन् । मुख्यमन्त्री राई नेतृत्व सरकारको विपक्षमा अहिलेसम्ममा माधवकुमार नेपाल निकट प्रदेशसभा सदस्य राजेन्द्रकुमार राई र जीवन घिमिरे बाहेकका अन्य प्रदेशसभा सदस्यहरु खुलिसक्नु भएको छैन ।

मुख्यमन्त्री राईले माधव नेपाल पक्षका प्रदेश १ इञ्चार्ज भीम आचार्यलगायत उहाँ पक्षधर प्रदेशसभा सदस्य, एमालेका नेता झलनाथ खनाल, योगेश भट्टराईलगायतका नेता निकट प्रदेशसभा सदस्यहरुलाई जुनसुकै मूल्यमा आफ्नो पक्षमा राख्न छलफल गरिरहनु भएको छ । तर प्रदेशसभा सदस्यहरुले नेपाल र ओली कुन पक्ष रोज्नेमा अहिले दुविधामा रहनुभएकोले केही समयपछि मात्रै प्रदेश १ सरकारको स्थिति स्पष्ट हुने देखिन्छ ।

प्रदेश १ मा एमालेका ५ जना प्रदेशसभा सदस्य विपक्षमा जाने वित्तिकै शेरधन राई नेतृत्वको सरकारको अस्तित्व संकटमा पर्ने अवस्था छ ।

Back to top button