बाढीका कारण चीनमा १२ जनाको मृत्यु

चीनमा अविरल वर्षापछि आएको बाढीको कारण १२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बाढीको कारण एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।

बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर प्रभावित भएका छन् । बाढीको कारण हेनानको धेरै भागमा हवाई तथा रेल सेवा प्रभावित हुनु पुगेको छ ।

सार्वजनिक भएका केही भिडियोमा चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म पानी आउने गरी बाढी आएको देखिन्छ ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले बाढीको कारण ठूलो जनधनको क्षति भएको भन्दै सम्बन्धित सबै निकायलाई मानिसको ज्यान र सम्पत्तिको सुरक्षामा जुट्न निर्देशन दिनुभएको छ । स्थानीय अधिकारीहरुका अनुशार बाढी शताब्दीकै ठूलो हो ।

मानिसहरुको उद्धारको लागि अहिले सैनिकहरु परिचालन गरिएको छ ।

Back to top button