नेपाली भूमिमा कल्भर्ट निर्माणमा एसएसबीको अबरोध

विराटनगर । विराटनगर महानगरले नेपाली भूमीमा निर्माण गर्न लागेको कल्भर्ट निर्माण भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अबरोध गरेको छ । एसएसबीको अबरोधले कल्भर्ट निर्माणमा ढिलाइ भएको हो ।

महानगरले वडा १७ स्थित इस्लामपुरमा १६ लाखको लागतमा सडकमा ग्रोभेल, ढल र क्लभर्ट निर्माणको योजना गत आर्थिक वर्षमा ल्याएको थियो । ढल निर्माण सम्पन्न भए पनि एसएसबीको अबरोधले कल्भर्ट निर्माण हुन नसकेको वडा १७ का वडा अध्यक्ष समिर कमरले बताउनुभयो ।

‘भारतको जोगबनीबाट बगेर आएको पानीको निकासका लागि महानगरले ढल बनाएर कल्भर्टमार्फत निकास दिन खोज्दा एसएसबीले अबरोध गरेको छ,’ कमरले भन्नुभयो, ‘निर्माण गर्न लागेको कल्भर्ट दशगजाभन्दा ५ मिटर नेपालतर्फ पर्दा समेत एसएसबीले अबरोध गरेको छ ।’

भारतीय पक्षले त्यही दशगजामा नै ३ वटा कल्भर्ट निर्माण गरेको तर आफूहरुले ५ मिटर नेपालतर्फ नै कल्भर्ट निर्माण गर्न लाग्दा अबरोध गर्नु उचित नभएकोले मोरङका प्रमुख जिल्ला अधिकारीलगायतका अधिकारीलाई जानकारी गराएको तर अहिलेसम्म सुनुवाइ हुन नसकेको कमरले गुनासो पोख्नुभयो ।

२ सय बढी परिवारको बसोबास रहेको दशगजासँग जोडिएको इस्लामपुरबासीलाई डुबानबाट जोगाउन खोज्दा भारतीयले अबरोध गरेको उहाँको भनाई थियो । एसएसबीले नेपालतर्फको पानी दशगजामा नजान दिन कल्भर्ट निर्माणमा अबरोध गरेको हो । महानगरले निर्माण गर्न लागेको कल्भर्टबाट निकास हुने पानी दशगजा हुँदै भारततर्फ बग्ने छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले भारतीय पक्षले कल्भर्टबाट बग्ने पानी दशगजा हुँदै भारततर्फ बग्ने भएकोले अबरोध गरेको बताउनुभयो । उहाँले दुई पक्षीय वार्ता, छलफल गरेर समस्या समाधान गर्ने बताउनुभयो ।

Back to top button