तटवन्ध र स्वच्छ वातावरणका लागि बृक्षारोपण आवश्यक : उपप्रमुख वास्तोला

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले बढ्दै गएको प्रदुषण नियन्त्रण गरी स्वच्छ वातावरण कायम गर्न र खोलामा बलियो तटवन्धका लागि बृक्षारोपण आवश्यक रहेको बताउनुभएको छ ।

उपप्रमुख वास्तोलाले नगरको वडा नम्बर ६ स्थित विशाल सामुदायीक वन उपभोक्ता समूहले घाटस्थलमा आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बृक्षारोपणको आवश्यकताका विषयमा चर्चा गर्नुभएको हो ।

उपप्रमुख बास्तोलाले यस्ता सृजनशिल काममा नगरपालिकाले सधै सहकार्य गर्ने समेत बताउनुभयो । विशाल सामुदायीक वन क्षेत्रको डाँसखोला किनारमा विभिन्न ७ जातका विरुवाहरु रोपिएका छन् ।

कार्यक्रममा, सव डिभिजन वन पथरीका अधिकृत सुरेन्द्र कार्की, सामुदायीक वन अभियानकर्मी रत्नबहादुर वस्नेत, समाजसेवी पर्शुराम कटुवाललगायतको सहभागिता थियो ।

सव डिभिजन वन कार्यालय मंगलबारेले उपलब्ध गराएको टिकका ५ सय, मसलाका ४ सय, सालका ३ सय, खयर, लटर, जामुन र कर्माका १,१ सय गरी १ हजार ६ सय वटा विरुवा रोपिएका छन् ।

०५७ सालमा डाँस खोलाको उकास क्षेत्रमा सिसौ, खयर सहितको बृक्षारोपण गर्दै साढे ४ हेक्टर क्षेत्रलाई सामुदायिक वनका रुपमा विकास गरिएको समूह अध्यक्ष देवीमाया काफ्लेले जानकारी दिनुभयो ।

Back to top button