प्रहरीमा ७ हजार ३ सय ८४ मुद्धा दर्ता, ४० करोड राजश्व संकलन

विराटनगर । प्रदेश १ मा गत आर्थिक वर्ष २०७७/७८ मा अपराध अनुसन्धानका लागि ७ हजार ३ सय ८४ मुद्दा दर्ता भएको छ । प्रदेशमा प्रहरीले ४० करोडभन्दा बढी राजश्वसमेत संकलन गरेको छ ।

समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रहरीको सक्रीयता बढेकोले उक्त उपलब्धी भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गत आर्थिक बर्षको १२ महिना अवधीमा ७ हजार ३ सय ८४ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका ७४३ जना फरार प्रतिवादी पक्राउ गरी ७३५ बर्ष कैद भुक्तान भएको प्रदेश प्रहरीको तथ्यांकले जनाएको छ ।

फरार प्रतिवादीबाट ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ समेत असुल गरिएको छ । यसैगरी लागुऔषध नियन्त्रणतर्फ वर्षभरिमा ३ हजार ५१६ ग्राम ब्राउनसुगर बरामद भएको छ भने १ हजार ७८९ किलो गाँजा बरामद भएको प्रदेश प्रहरीको तथ्यांकले जनाएको हो ।

यसैगरी बिभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको तथा मनोद्धिपक सुई १० हजार ३५८ एम्पुल बरामद भएको छ । अन्य बिभिन्न किसिमका मनोद्धिपक औषधीहरु २ हजार ४ सय ८३ ट्याब्लेट बरामद भएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट नष्ट गरिएको छ ।

यसैगरी भन्सार चोरी निकासीतर्फ अबैध रुपमा समान चोरी निकासी गर्ने १९० जनालाई पक्राउ गर्नुका साथै १९ करोड ०१ लाख ५८ हजार २१२ रुपैयाँ राजश्व गरिएको छ ।

यस्तै नदिजन्य पदार्थको अबैध दोहन गर्ने १७० जनालाई पक्राउ गरिएको छ । नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने ७८५ वटा सवारी साधनलाई नियन्त्रणमा लिई ६५ लाख ७५ हजार ३०० राजश्व संकलन गरिएको छ ।

यसैगरी अबैध काठ चोरी निकासी गर्ने ७० जनालाई पक्राउ गर्नुका साथै ३ हजार २६१ क्यूबी फिट काठ बरामद गरी ७० लाख ३८ हजार ७८७ रुपैयाँ राजश्व प्रदेशभरिका प्रहरीले संकलन गरेको छ ।

यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ ट्राफिक नियम उलंघन गर्ने २ लाख ५४ हजार ३९४ वटा सवारी साधनलाई कारवाही गर्दा १५ करोड ९७ लाख ११ हजार राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको श्रावणदेखी असार मसान्त सम्ममा ७ हजार ३ सय ८४ मुद्दा दर्ता भई ४० करोड ७८ लाख ४२ हजार ३१७ राजश्व संकलन भएको हो ।

Back to top button