विद्यार्थीलाई लक्षित गर्दै बेलबारीका ५० स्थानमा फ्रि वाईफाई

बेलबारी । कोरोना भाइरस संक्रमण फैलिएर विद्यार्थीको पठनपाठन प्रभावित भइरहेका बेला वैकल्पिक सिकाईका लागि इन्टरनेटको सहज पहुँच स्थापना गर्न बेलबारी नगरपालिकाले नगरका विभिन्न ५० स्थानमा फ्रि वाईफाईको व्यवस्था मिलाएको छ ।

वैकल्पिक सिकाईका रुपमा भर्चुअल कक्षाको अभ्यास र प्रभाव बढ्दै गएपछि नगरपालिकाले पनि त्यसलाई सहज बनाउन फ्रि वाईफाई जोन बनाएको हो । हाललाई एउटा वडामा ४ ठाँउमा जडान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

फ्रि वाईफाई जडान भएपछि इन्टरनेट पहुँच भन्दा बाहिर रहेका बिद्यार्थीहरुलाई पनि पठन पाठनमा सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

नगरपालिकाका ५ वटा बिद्यालयलाई भर्चुअल कक्षाको हब बनाएर पठन पाठन गरीने नगरपालिका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोइरालाले बताउनुभयो । ५ वटा बिद्यालयमा सबै बिद्यालयका शिक्षक शिक्षिका भेला भएर अनलाइनको माध्यम बाट सिकाइने कोइरालाको भनाई छ ।

यस्तै अझै पनि अनलाइनको पहुँच नपुगेका बिद्यार्थीहरुका लागि सियुजि सिम उपलब्ध गराईएको नगर प्रमुख सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार उक्त सीमकार्ड मार्फत एक जना शिक्षकले ६ जना बिद्यार्थीलाई एकै पटक पढाउन मिल्ने छ ।

उक्त सीमको प्रयोगवाट सामान्य खालका मोवाईल बाट समेत पठन–पाठन गर्न मिल्ने नगरपालिकाको कार्यालयले जनाएको छ ।

Back to top button