नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित, अन्य अधिवेशन पनि प्रभावित हुने

काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । यो सँगै तल्ला तहका सबै अधिवेशनहरु प्रभावित भएका छन् ।

आज बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन तत्कालको लागि स्थगन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिनुभयो । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा बसेको पादधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने कांग्रेस नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित हुन थालेपछि महाधिवेशन समेत प्रभावित हुने देखिन्छ ।

महाधिवेशन तोकिएको समयमै गर्नका लागि आजको वैठकमा विकल्पका विषयमा समेत छलफल भएको छ । पदाधिकारी बैठकमा महाधिवेशन गर्ने उपाय र विकल्पको बारेमा छलफल भएको नेताहरुले बताएका छन् ।

पुरानै प्रतिनिधि कायम राखेर महाधिवेशन गर्ने, केन्द्रीय कार्य समिति र प्रदेश समितिको मात्र अधिवेशन गर्ने वा महाधिवेशन सार्ने कानूनी र संवैधानिक उपाय सोच्नेलगायतका विकल्पमा छलफल भएको हो ।

कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

यसैगरि प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौं र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका सार्वजनिक गरिएको थियो ।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा महाधिवेशन प्रभावित भएको हो ।

Back to top button