![](https://koshisandesh.com/wp-content/uploads/2021/06/khop.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/06/khop.jpg)
विराटनगर । प्रदेश १ मा भोलीदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिदैछ । प्रदेश स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले सुनसरीबाट ५५ वर्ष माथि उमेरकालाई सोमबारदेखि खोप लगाउन सुरु भइरहेको बताउनुभयो ।
‘सरकारले चाइनाबाट खरिद गरेको भेरोसेल खोप प्रदेश सरकारले यस प्रदेशका १४ वटै जिल्लामा सोमबारसम्ममा पठाइसक्छ,’ उहाँले भन्नुभयो, ‘भेरोसेल खोप लगाइसकेपछि अमेरिका सरकारले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको खोप ५० वर्ष माथि उमेर समूहकालाई लगाउने छौं ।’ जोनसन एण्ड जोनसनको खोप एक मात्रा मात्रै लगाएपछि पुग्ने रहेको छ ।
प्रदेश १ मा १ लाख ६९ हजार डोज भेरोसेल खोप र २ लाख ४० हजार डोज जोनसन एण्ड जोनसन कम्पनीको खोप आएको प्रदेश आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले बताउनुभयो । उहाँले प्रदेश १ का सबै जिल्लामा दुबै खोप वितरण गरिसकेको बताउनुभयो ।
यस प्रदेशमा हालसम्ममा कोभिशिल्ड र भेरोसेल खोपको दुबै मात्रा ९९ हजार ६७७ जनाले लगाइसकेको निर्देशक बस्नेतले बताउनुभयो । यस प्रदेशका ३ लाख ७७ हजार ४४९ जनाले कोभिशिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको र दोस्रो मात्रा लगाउन बाँकी रहेको उहाँले बताउनुभयो ।