चक्कु प्रहार गरी चौधरीको हत्या

विराटनगर । उर्लाबारी नगरपालिका ८ थारुटोलमा एक किशोरलाई सोमबार चक्कु प्रहार गरी हत्या गरिएको छ । अर्को एक जना घाइते छन् । उर्लाबारी नगरपालिका ८ का १७ वर्षीय अभिषेक चौधरीको हत्या भएको हो ।

४ वटा मोटरसाइकलमा आएका उर्लाबारी ८ कदमटोलका ७÷८ जनाको समूहले अपरान्ह १२ः१५ बजेतिर छिमेकी दाई भुरन चौधरीको आगनको ट्युवेलमा पानी खाइरहेको बेला अभिषेक र उनका साथी सुशन धामीलाई चक्कु प्रहार गरी घाइते बनाएको उर्लाबारी ८ का वडा सदस्य लक्ष्मी ढुंगानाले बताउनुभयो ।

‘मोटरसाइकलमा आएका केटाहरुले माछा मारेर घर आएपछि ट्युवेलमा हातखुट्टा धोई पानी खाइरहेको बेलामा जबरजस्ती समातेर चौधरीको कोखालगायतको शरीरको बिभिन्न भागमा चक्कु प्रहार गरी घाइते बनाका थिए,’ उहाँले भन्नुभयो, ‘घाइते अभिषेकलाई तत्काल उर्लाबारीको अरनिको अस्पताल लगिएको तर त्यहाँ उपचार संभव नभएपछि बिर्तामोडको बिएण्डसी अस्पताल रेफर गरेको थियो ।’

बिएण्डसी अस्पताल लगेपछि चिकित्सकले अभिषेकलाई मृत घोषणा गरेको इलाका प्रहरी उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक राजाराम खडकाले बताउनुभयो । खडकाका अनुसार उनीहरुको चक्कु प्रहारले तिघ्रालगायत शरीरको बिभिन्न भागमा काटिएको धामीको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा कदमटोलका १८ वर्षीय निशान राई, राकेश कार्की र पवन कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । घटना के कति कारणले भएको र कसको चक्कु प्रहारबाट अभिषेकको मृत्यु भएकोलगायत विषयमा अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

स्थानीय समेत रहेका वडा सदस्य ढुंगानाले दुई छिमेकी टोल थारुटोल र कदमटोलका केटाहरुको ग्याङ फाइटमा अभिषेकको ज्यान गएको बताउनुभयो । ‘कदमटोलका केटाहरुले आइतबार पनि थारुटोलमा आएर झगडा गरेर गएका थिए,’ उहाँले भन्नुभयो, ‘मोटरसाइकलमा आएका केटाहरुले ट्युवेलमा पानी खाइरहेका अभिषेकस“ग एक शब्द पनि नबोली समातेर नजिकैको शौचालयको पर्खाल नजिक लगेर चक्कु प्रहार गरेर भागेका थिए ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले दुई टोलका किशोरहरुले फुटबल खेल्ने क्रममा भएको विवादले घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी उर्लाबारीको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेकोले अनुसन्धानबाट थप कुरो खुल्ने बताउनुभयो ।

Back to top button