सहज छैन खोप लगाउन, खोप लगाउनेको भिडबाट सङ्क्रमण फैलने जोखिम (स्थलगत रिपोर्टिङ)

पुण्य पी अधिकारी,

विराटनगर । विराटनगर महानगरपालिका–५ की ३३ वर्षीया प्रतिमा श्रेष्ठ साउन १२ गते वीरेन्द्र सभागृहमा कोभिड–१९ विरूद्धको भेरोसिल खोप लगाउन पुग्नु भएको थियो । सात महिनाको नानीलाई लिएर खोप केन्द्रमा बिहान ७ बजे पुग्नु भएकी श्रेष्ठले अपरान्ह १२ बजेसम्म लाइन छिचोल्न सक्नु भएन । सँगै नौ महिने नानीसहित विराटनगर महानगरपालिका–५ कै ३५ वर्षीया प्रमिला श्रेष्ठ पनि कोभिड–१९ विरूद्धको खोप लगाउनु विराटनगर महानगरपालिकाले तोकेको खोप केन्द्र बिहान ७ बजे नै पुग्नु भयो । तर अपरान्ह्सम्म पालो आउने छाँटकाँट थिएन ।

मोरङको लेटाङ नगरपालिका–५ स्थायी घर भइ जागिरको सिलसिलामा विराटनगर– १० मा बस्ने ३५ वर्षीय इन्द्र घिमिरे आज कोभिड–१९ विरूद्धको खोप केन्द्र वीरेन्द्रसभा गृहमा भेटिनु भयो । एभरेष्ट कलेज विराटनगरमा प्रशासन फाँटमा कार्यरत घिमिरेले भन्नुभयो बिहान ९ बजे नै खोप केन्द्र आइपुगे तर, अहिले १२ बज्यो तर पालो आउने देखिदैन ।

१५ वर्षीय छोरालाई मृगौला सम्बन्धी समस्या भएर भारतमा रहेको एपोलो अस्पतालमा उपचार गराइरहनु भएकी विराटनगर –१२ की २९ वर्षीया टिका खड्का कोभिड–१९ विरूद्धको भेरोसिल खोप लगाउन वीरेन्द्र सभागृहमा पुग्नु भएको थियो । एक वर्ष अघि मृगौला रोगले पीडित छोराको उपचार एपोलो अस्पतालमा गराउनु भएकी खड्का कोभिड–१९ को खोप लगाएर दुईतिन भित्रमा भारत जाने सुरमा हुनुहुन्छ । एपोलो अस्पतालले एक वर्षअघि १२ महिना भित्र पुनः दोस्रो पटक ‘फलोअप’मा बिरामीलाई लिएर आउनु भनि डिस्चार्ज दिएको थियो । तर कोभिड–१९ विरूद्धको खोप समयमा लगाउन नपाउँदा बिरामी छोरालाई समयमा नै उपचारका लागि भारत लैजान नसकेको खड्काले बताउनु भयो । खोप लगाउने आशामा बिहान ७ बजेदेखि नै लाइनमा बसेपनि आफ्नो पालो नआएको खड्काले बताउनु भयो ।

विराटनगर महानगरपालिकाले साउन ११ र १२ गते वीरेन्द्रसभा गृहमा कोभिड–१९ विरूद्धको भेरोसेल खोप अभियान सञ्चालन गरेको छ । महानगरपालिकाले अग्रपङ्ग्तीमा कार्यरत शिक्षक, कर्मचारी, प्रहरी, यस अघि खोप लगाउन छुटेका व्यक्तिहरू, सञ्चारकर्मी, सार्वजनिक सवारीका चालकहरू, सहचालकहरू र सबै नागरिकलाई खोप लगाउन सार्वजनिक सूचना गरेपछि वीरेन्द्रसभा गृहमा खोप लगाउनेहरूको लाम लागेको हो ।

वीरेन्द्रसभा गृहमा महिला र पुरूषलाई छुट्टाछुट्टै लाइन लगाएर खोप स्थलमा पु¥याउने व्यवस्था गरिएपनि नानीका आमाहरू, शिक्षक, कर्मचारीलगायतलाई छुट्टै व्यवस्था नगरिँदा भीँडभाड बढेको र भौतिक दूरीसमेत कायम हुन नसकेको खोप लगाउन लामबद्ध इन्द्र घिमिरे बताउनुहुन्छ ।

खोप स्थलमा आवश्यक मात्रामा खोप कर्मचारी र खोप लगाएका व्यक्तिहरूको रेकर्ड प्रणाली सुस्त गतिमा हुँदा धेरैले दुख पाएको खोप लगाउन लाइनमा बस्नु भएकी विराटनगर महानगरपालिका–५ की २२ वर्षीया माला बुढाथोकीले बताउनु भयो ।

विराटनगर महानगरपालिकाले वीरेन्द्रसभा गृह, नेपाल परिवार नियोजन सङ्घ विराटनगर र कोशी अस्पतालमा भेरोसिल खोप केन्द्र तय गरी साउन ११ गतेदेखि खोप सुरू गरेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले नेपाल परिवार नियोजन सङ्घमा बालबालिका सम्बन्धी नियमित खोप लगाइने भएकाले परिवार नियोजन सङ्घमा कोभिडको खोप लगाउन रोक लगाएपछि दुई ओटा केन्द्रमा मात्र खोप सञ्चालन गरिएको विराटनर महानगरपालिका स्वास्थ्य शाखा संयोजक रमेश कार्कीले बताउनु भयो । उहाँले कोभिड–१९ विरूद्धको खोप लगाउन धेरै बाँकी भएकाले खोप केन्द्रमा देखिएको भीँडभाडले कोभिड–१९ को सङ्क्रमण अझ् बढ्ने जोखिम देखिएको बताउनु भयो ।

पहिलो दिनको अवस्थालाई हेरेर आज वडाका स्वास्थ्य कार्यालयबाट पनि खोप लगाउने ब्यवस्था मिलाइएको छ । यद्यपी आज पनि सवै ठाउँमा उस्तै भिड देखिएको छ । विराटनगर महानगरपालिकामा सर्वसाधारणका लागि ७ हजार ५ सय मात्रा खोप प्राप्त भएको स्वास्थ्य शाखा संयोजक रमेश कार्कीको भनाइ छ । नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसिल खोप प्रदेश १ मा आएपछि खोप अभियान थालिएको छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ४८ हजार भायल (२ लाख ४० हजार डोज) जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारलाई प्राप्त भएको सबै खोप साउन ९ गतेदेखि नै जिल्लाहरूमा वितरण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट साउन ९ गते प्राप्त भएको खोप जिल्लाहरूमा वितरण गरीसकेपछि साउन ११ गतेबाट खोप अभियान थालिएको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहको भनाइ छ ।

Back to top button