कोशी अस्पतालमा अक्सिजन उत्पादन सुरु

विराटनगर । विराटनगरस्थित कोशी अस्पताल परिसरमा अक्सिजन प्लाण्ट स्थापनापछि मंगलबार गरिएको परीक्षण उत्पादन सफल भएपछि आजबाट उत्पादन सुरु गरेको छ । अमेरिका–नेपाल फाउण्डेशनले १ करोड ७ लाखको लागतमा अक्सिजन प्लाण्ट स्थापना गरेपछि उत्पादन सुरु भएको हो ।

३ सय ५० शय्या क्षमताको कोशी अस्पताललाई सामान्य अवस्थामा यस प्लाण्टबाट उत्पादन हुने अक्सिजन बिरामीका लागि प्रयाप्त हुने अस्पतालका प्रमुख मेडिकल सुपरिडेण्टेण्ट डा. चुमनलाल दासले बताउनुभयो ।

‘अक्सिजन प्लाण्टबाट २४ घण्टामा १ सय ठूलो सिलिण्डर अक्सिजन उत्पादन हुन्छ,’ उहाँले भन्नुभयो, ‘कोरोना महामारी नहुँदाको अवस्थामा अक्सिजन प्लाण्टमा हुने उत्पादनले बिरामीका लागि अक्सिजन प्रयाप्त हुन्छ ।’ डाइग्नोकमले परीक्षण उत्पादन गरेर हस्तान्तरण गरेको उहाँले बताउनुभयो ।

अक्सिजन प्लाण्टबाट सोझै अस्पतालका प्रत्येक वार्डको शय्यामा पु¥याउने पाइपलाइनिङ गरिएको दासले बताउनुभयो । उहाँले खपत नभएका अक्सिजन सिलिण्डरमा भरेर राख्ने समेत व्यवस्था गरिएको बताउनुभयो ।

डा. दासले कोरोना बिरामीका कारण अहिले अस्पतालमा दैनिक डेढ सय सिलिण्डर खपत भइरहेको बताउनुभयो । ‘कोरोना महामारीका बेला दैनिक ३ सयदेखि ४ सय सिलिण्डर खपत भइरहेको थियो,’ उहाँले भन्नुभयो, ‘अस्पतालको स्तरोन्नति गरेर ५ सय शय्यामा पु¥याउन भवन निर्माणको काम सुरु भइसकेकोले सामान्य अवस्थामा पनि अहिले स्थापना भएको अक्सिजन प्लाण्टले धान्दैन तर अहिलेलाई कोरोना बाहेकका बिरामीलाई प्रयाप्त हुन्छ ।’

क्षमता बिस्तार भएपछि अक्सिजनको माग बढ्ने भएकोले थप अर्को अक्सिजन प्लाण्टका लागि नेपाल चिकित्सक संघ कोशीको सहकार्यमा सूची फाउण्डेशनसँग पहल भइरहेको डा. दासले बताउनुभयो । डाइग्नोकम इन्टरनेशनल काठमाडौंले अक्सिजन प्लाण्टका लागि उपकरण आपुर्ति गरी जडान गरेको उहाँले बताउनुभयो ।

Back to top button