प्रदेश १ को नामकरणका लागि औपचारिक रुपमा मुख्यमन्त्री राईद्वारा छलफल सुरु

विराटनगर । प्रदेश १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले औपचारिक रुपमा छलफल सुरु गर्नुभएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा औपचारिक रुपमा छलफल सुरु गर्नुभएको हो ।

चालू अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउन मुख्यमन्त्री राईले छलफल अघि बढाउनुभएको हो । उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दलका नेताहरुसँग संसदको चालु अधिवेशनबाटै प्रदेशको नामको विषय टुंग्याउन आ–आफ्ना दलमा धारणा बनाउन र सघाउन आग्रह गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राजिव कोइरालाले अहिलेको मुलुकको राजनीतिक विषम परिस्थितिमा मुख्यमन्त्री राईले प्रदेशको नामका लागि औपचारिक रुपमा छलफल सुरु गर्नुभएको बताउनुभयो । ‘एमालेभित्रै विवाद रहेको अवस्थामा प्रदेशको नामको विषयमा सहमति जुटाउन मुख्यमन्त्री ज्यूलाई आफ्नै दलमा परिस्थिति प्रतिकुल छ,’ उहाँले भन्नुभयो, ‘परिस्थिति जस्तोसुकै भए पनि प्रदेशको नामको विषय टुंगो लगाउनु आवश्यक भएकोले मुख्यमन्त्रीको यो पहल राम्रो हो ।’

छलफलमा माओवादी केन्द्रबाट कुसल लिम्बु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बिष्णु तुम्बाहाम्फेको सहभागीता रहेको थियो । दलका नेताहरुले आ–आफ्ना दलमा नामकरणको विषयमा छलफल गरेर समान धारणा बनाउने बैठकमा प्रतिबद्धता जनाउनुभयो ।

Back to top button