मापदण्ड मिच्दै कार्यकर्तालाई खोप लगाउँदै गर्दा लखेटिए विराटनगरका मेयर

विराटनगर । सरकारले प्राथमिकताका आधारमा मापदण्ड बनाई जनताका लागि पठाएको कोरोनाविरुद्धको खोप विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले रातको समयमा कार्यकर्तालाई लगाइदिइरहेको थाहा पाएपछि स्थानीयले लखेटेका छन् ।

गएराती विराटनगर ५ वडाका कांग्रेस सभापति विमल राजभण्डारीको घरमा मेयर पराजुलीले आफै गएर कार्यकर्तालाई खोप लगाइरहेको बेला स्थानीयले होहल्ला गर्दै लखेटेका हुन् । मेयर पराजुलीले आफ्ना सचिवालयका केही व्यक्तिसहित खोप लगाउन राजभण्डारीको घरमा पुग्नु भएको थियो ।

कांग्रेस समर्थक नेता तथा कार्यकर्तालाई १०/१० जनाको टोलीमा एउटा टोलीले खोप लगाइसकेपछि अर्को टोली बोलाउने व्यवस्था गर्नुभएको थियो । तर खोप आउन १ घण्टा ढिलो भएकाले राजभण्डारीको घरमा ३० जना नेता तथा कार्यकर्ता भेलाइसकेका थिए । यति धेरै व्यक्ति राती १० बजे भेला भएर कुराकानी गरिरहेको देखेर छरछिमेकले के भएको भन्दै हर्न गएपछि खोप लगाइरहेको पत्ता लगाएका थिए । त्यसपछि स्थानीयले होहल्ला गर्दै खोप खोसाखोस भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

खोपको बाकस खोस्ने क्रममा नगरपालिकाकै कर्मचारी कौशल निरौलाले खोस्न नदिएपछि स्थानीय भीडले हातपात समेत गरेको थियो । लगत्तै मेयर पराजुली भने दौडेर भाग्नु भएको थियो । स्थानीयले लेखेट्न थालेपछि मेयर पराजुलीले भन्सार एजेन्ट प्रविण जोशीको गाडी चढेर भाग्नुभएको थियो ।

मेयर पराजुलीको जनताको लागि आएको खोप आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको घर घरमा लगेर लगाउन थालेकोले चौतर्फी विरोध भइरहेको छ । आज केही युवाहरुको समूहले मेयर विरुद्ध महानगर अगाडी चर्को नाराबाजी समेत गरेका छन् ।मेयर पराजुलीले घटना बारे सञ्चारमाध्यमहरुमा समाचार नआओस भन्दै निकै कसरत समेत गर्नुभएको थियो । यद्यपी रातिका घटनाक्रम विभिन्न सामाजिक सञ्जालबाट बाहिरिसकेका थिए ।

यता मेयर पराजुलीले भने ढाकछोप गर्दै राती खोप लगाएको बारे आफूलाई कुनै जानकारी नभएको र आफू घटनास्थलमा समेत उपस्थित नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले विज्ञप्ती जारी गर्दै घटनास्थलमा आफू उपस्थित नभएको बताउनुभएको छ ।

Back to top button