विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले मापदण्ड विपरित खोप लगाईदिएको गएरातीको घटनाप्रति नेकपा एमाले महानगर कमिटीले भर्त्सना गरेको छ ।
नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले आज विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नुभएको छ । गएराती मेयरको नेतृत्वमा विराटनगर ५ का नेपाली काँग्रेसका बुथ सभापति विमलराज भण्डारीको घरमा केभिड– १९ विरुद्धको भेरोसेल खोप लगाउँदै गरेको अवस्थामा स्थानीयले मेयरलाई लखेटेको घटना सार्वजनिक भएको थियो ।
सोही घटनापछि आम महानगरवासीको भावनामाथि खेलवाड भएको भन्दै थापाले घटनाको निन्दा गर्नुभएको हो । उहाँले विज्ञप्ति मार्फत घटनाको छानबिन गर्दै दोषीलाई कारवाही गर्न माग गर्नुभएको छ ।
आफै गएर खोप लगाउन निर्देशन दिने, उभिएर हेर्ने, आसेपासेलाई बोलाउने अनि म गएको छैन भन्दै वक्तव्यवाजी गरेर घटना लुकाउने प्रयत्न भएको भन्दै उहाँले यस्ता घटना खेदपूर्ण रहेको बताउनुभएको छ ।
नेकपा एमालेको सरकार हुँदै ल्याईएको खोपलाई पूर्वाग्रह साँधेर आफ्नै आसेपासेलाई घर घरमा लगाईदिने घटनाले लज्जित बनाएको थापाले बताउनुभयो ।
उहाँले आजै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईलाई समेत विराटनगरमा थप खोप उपलब्ध गराउनका लागि माग गर्नुभएको छ ।
विज्ञप्तिमा कोरोनाबाट ज्यान गुमाएका नागरिक प्रति समवेदना प्रकट गर्दै उपचार गराइरहेका नागरिकको स्वास्थ्यलाभको कामना गरिएको छ ।