समयमा पूरा भएन प्रदेश गौरबको एकमात्र आयोजनाको काम 

सुदिप कोइराला
विराटनगर । प्रदेश १ सरकारको एक मात्र गौरबको आयोजना विराटचोक–पुष्पलालचोक ४ लेन सडक आयोजना बजेट अभावमा समयमा पूरा हुन सकेन । २२ किलोमिटर लामो उक्त सडक आयोजना तग आर्थिक वर्षको असरा मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य पूरा हुन सकेन । मुख्यमन्त्री शेरधन राईले उक्त आयोजना समयमा पूरा गर्ने उद्घोष गर्नुभएको थियो ।

भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरले दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी तीन वटा प्याकेजमा कूल १ अर्ब ७६ करोड १ लाखमा ठेक्का लगाएको थियो । विराटचोकदेखि नेताचोकसम्म १० किलो मिटर सडक निर्माणका लागि ६८ करोड ६६ लाख र नेताचोकदेखि मिलनचोकसम्मको १० किलोमिटर सडक निर्माणका लाागि ६९ करोडमा श्रेष्ठ/रमण/एपेक्स जेभिले ठेक्का लिएको छ ।

हालसम्ममा विराटचोकदेखि नेताचोकसम्मको भौतिक प्रगति ६० र आर्थिक प्रगति ४७ दशमलव ३१ प्रतिशत भएको भौतिक पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीले बताउनुभयो । उहाँले नेताचोकदेखि मिलनचोकसम्ममा भौतिक प्रगति ८० र आर्थिक प्रगति ८३ दशमलव ६८ प्रतिशत भएको बताउनुभयो । दुबै सडक खण्डको काम गत आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गरिसक्नु पर्ने सम्झौतामा उल्लेख थियो ।

यस्तै, मिलनचोकदेखि पुष्पलालचोकसम्म २ किलोमिटर सडक र केसलीया खोलामा पुल निर्माणका लागि लामा/बानियाँ जेभी कन्स्ट्रक्शनलाई ३८ करोड ३५ लाखमा निर्माणका लागि ठेक्का दिएको छ तर त्यसको ३० प्रतिशत भौतिक र २५ दशमलव ५६ प्रतिशत आर्थिक प्रगति भएको रेड्डीले बताउनुभयो । लामा/बानियाँ जेभीको काम गर्ने समय अझै एक वर्ष बाँकी छ । प्रमुख रेड्डीले विराटचोक–नेताचोक र नेताचोक–मिलनचोकसम्मको दुबै प्याकेजको सडक निर्माणका लागि पुस मसान्तसम्मको ६ महिनाको म्याद थप गरिएको बताउनुभयो ।

‘गत वर्ष नै पहिलो र दोस्रो प्याकेजको काम सम्पन्न गर्ने योजना भएको तर कोरोना महामारी र स्रोतको अभावले काम गर्न सुरुमा कठीनाइ भएकोले समयमा काम पूरा गर्न सकेनौं,’ उहाँले भन्नुभयो, ‘अहिले म्याद थप गरिएको ६ महिनाभित्र काम सम्पन्न गरेर पहिलो र दोस्रो प्याकेजको सडकको बैसाख १ गते उद्घाटन गर्ने योजनाका साथ काम अघि बढाएका छौं ।’

विराटचोक–नेताचोक सडक खण्डको आयोजना प्रमुख युवराज बिष्टले गत वर्ष प्रदेश सरकारले समयमा बजेटको सुनिश्चितता गर्न नसकेकोले काम सम्पन्न गर्न समस्या भएको बताउनुभयो । उहाँले यस वर्ष पुस मसान्तसम्ममा जसरी पनि सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताउनुभयो ।

तीन वटै प्याकेजमा विद्युत पोल सार्ने काम अन्तिम चरणमा पुगेको छ भने पहिलो र दोस्रो प्याकेजमा नाला निर्माणको काम सकिएको प्रमुख रेड्डीले बताउनुभयो । पहिलो प्याकेजमा सब बेस राखेर कालोपत्रे गर्ने र दोस्रो प्याकेजमा पहिलो लेयर कालोपत्रे सकेर अब दोस्रो लेयर कालोपत्रे गर्न मात्रै बा“की रहेकोले यस वर्ष काम सक्न कुनै समस्या नहुने उहाँले बताउनुभयो ।

मिलनचोक–पुष्पलालचोकसम्मको तेस्रो प्याकेजमा सडक निर्माणको काम चालु आर्थिक वर्षमा सक्ने र कुनै प्राविधिक कठीनाइ नआए पुलको काम समेत पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाएको उहाँले बताउनुभयो ।

बजेट अभावमा समयमा काम पूरा हुन नसकेको उक्त आयोजनाको कूल १ अर्ब ७६ करोड १ लाखमध्ये हालसम्ममा १ अर्ब ३३ लाख मात्रै भूक्तानी भएको छ । चालु आर्थिक वर्षमा काम पूरा गर्न ७५ करोड ६८ लाख बजेट आवश्यक भएको तर प्रदेश सरकारले २० करोड मात्रै बजेट विनियोजन गरेको भौतिक पूर्वाधार विकास कार्यालयको तथ्यांकले जनाएको छ । त्यसैले यस वर्षपनि बजेट अभावमा काम पूरा नहुने आशंक बढेको हो ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख रेड्डीले तत्काल सरकारले २० करोड बजेट विनियोजन गरे पनि संघीय सरकारबाट ससर्त अनुदान थप भएर आउने भएकोले काम पूरा गर्न बजेट अभाव नहुने दावी गर्नुभयो ।

प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद पौडेलले अहिले २० करोड मात्रै बजेट विनियोजन गरिए पनि काम सम्पन्न भएपछि बजेट अभाव हुन नदिने प्रदेश सरकारको नीति रहेको बताउनुभयो । उहाँले प्रदेशमा खर्च हुन नसक्ने बजेट र आर्थिक वर्षको अन्त्यमा संघीय सरकारबाट ससर्त अनुदान थप ल्याएर बजेट अभाव हुन नदिने परिकल्पना गरिएको बताउनुभयो ।

Back to top button