एकै परिवारका तीनजनाको मृत्युपछि उदयपुरको एउटा गाउँ शिल

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुर गाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट दुई साताअघि ४३ वर्षीय रमण पोखरेल, साताअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो ।

यसरी एकै परिवारका तीन जनाको मृत्यु भएको र गाउँमा कोरोनाको संक्रमण समेत तिब्र गतिमा फैलिएपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको छ ।

पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले सङ्क्रमित भइसकेका छन् । त्यसैले चेन ब्रेक गर्न गएरातिदेखि साउन २४ गतेसम्मका लागि गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताउनुभएको छ ।

स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार जिल्लामा १० दिन अघिसम्म पनि कोरोना सङ्क्रमण घट्दो दरमा थियो । एक सातायता पुनः सङ्क्रमण बढ्न थालेको छ ।

खैजनपुरमा सङ्क्रमण पुनः बढ्न थालेपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण शुरु गरिने स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताउनुभयो ।

बिहान ७ देखि ९ बजेसम्म मात्र दैनिक उपभोग्य वस्तुका सामान्य पसल खोल्न अनुमति प्रदान गरिएको र सो समयबाहेकका समय पूर्णरूपमा लकडाउन गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो ।

Back to top button