प्रदेश १ मा ७ हजार ८६२ सक्रीय संक्रमित

विराटनगर । पछिल्लो समय निरन्तर संक्रमितको संख्या बढ्दै जाँदा प्रदेश १ मा सक्रीय संक्रमितको संख्या ७ हजार ८६२ पुगेको छ । संक्रमितको संख्यामा वृद्धि भएसँगै यहाँका अस्पतालहरु पनि भरिँदै गएको हो ।

यस प्रदेशमा आइतबार २ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा ३१ प्रतिशत अर्थात् ७२५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । शनिबार २ हजार ४७१ जनामा कोरोना परीक्षण गर्दा ३२ दशमलव ५४ प्रतिशत अर्थात् ८०४ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार ३ हजार ६३७ जनामा परीक्षण गर्दा ३१ दशमलव ४५ अर्थात् १ हजार १४४ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

बिहीबार संक्रमितको संख्या ३५ दशमलव ७८ प्रतिशत पुगेको थियो । ३ हजार ८४ जनामा कोरोना परीक्षण गर्दा बिहीबार १ हजार १०४ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार ३ हजार ८५२ जनामा कोरोना परीक्षण गर्दा ३० दशमलव ६३ प्रतिशत अर्थात् १ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार यस प्रदेशमा ४ हजार १८२ जनामा कोरोना परीक्षण गर्दा ३० दशमलव ३६ अर्थात् १ हजार २७० जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, सोमबार ३ हजार ९४७ जनामा कोरोना परीक्षण गर्दा २८ दशमलव २७ प्रतिशत अर्थात् १ हजार ११६ जनामा संक्रमण पुष्टि भएको थियो ।

झापामा २ हजार ७७४, मोरङमा २ हजार ४५०, सुनसरीमा २ हजार ६१, धनकुटामा १७९, भोजपुरमा २१, इलाममा ४७, उदयपुरमा ६९, संखुवासभामा १८, तेह्रथुममा १७, खोटाङमा ५, ताप्लेजुङमा ९, पा“चथरमा ३८, ओखलढुंगामा ३ र प्रदेश १ बाहिरका १६३ जना गरी यस प्रदेशमा कूल सक्रीय संक्रमितको संख्या ७ हजार ७४१ पुगेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताउनुभयो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलगायतका यस प्रदेशस्थित सामुदायिक तथा निजी गरी ३१ वटा अस्पतालहरुमा रहेको १५८ भेण्टिलेटरमध्ये ५३, १४० आइसियूमध्ये ७५, ६०० एचडियूमध्ये २७८, ६४२ समान्य शय्यामा १९१ जना संक्रमित उपचार गराइरहेको उहाँले बताउनुभयो । संक्रमितमध्ये ३१५ जना बिभिन्न आइसोलेसन केन्द्रमा र ६ हजार ९५० जना होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका १५ भेण्टिलेटर, ६ आइसियू, ४७ एचडियु र २८ सामान्य शय्यामध्ये भेण्टिलेटर, आइसियू र एचडियू पूर्ण रुपमा भरिएर सामान्य शय्यामा ७ जनासहित कूल ७५ संक्रमित उपचाररत छन् ।

कोशी अस्पतालको ७२ शय्यामा २७, मेची प्रादेशिक अस्पताल झापको ११२ शय्यामा ५६, बसढीगंगास्थित विराट मेडिकल अस्पतालको १२६ शय्यामा ४६, विराटनगरस्थित नोवेल मेडिकल अस्पतालको १९७ शय्यामा ७, झापाको बी एण्ड सी अस्पतालको २ सय शय्यामा २८ जना संक्रमित उपचाररत छन् ।

कोभिड १९ उपचार केन्द्रका संयोजक वैजनाथ साहले दैनिक १० देखि १५ जना कोरोना संक्रमित भर्नाका लागि आउने गरेको बताउनुभयो । उहाँले पछिल्लो समय संक्रमित बिरामीको चाप अत्यधिक बढेको र आइसियू, भेण्टिलेटर र एचडियूमा राख्ने बिरामी मात्रै भर्नाका लागि आउने गरेकाले थेग्नै नसकिने अवस्था भएको बताउनुभयो ।

निजी अस्पतालहरुमा संक्रमित बिरामीहरुले आफै उपचार शुल्क तिर्नुपर्ने भएकाले सरकारी अस्पतालमा संक्रमित बिरामीको चाप बढेको छ । सरकारी अस्पतालहरु भरिँदै गएकाले निजी अस्पतालमा पनि संक्रमित बिरामी भर्ना हुने क्रम बढ्दै गएको सामाजिक विकास मन्त्रालयका प्रवक्त भट्टराईले बताउनुभयो ।

दैनिक संक्रमितको संख्यामा वृद्धि हुनुका साथै अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि सर्वसाधारणले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने गरेको छैन । अहिले स्थानीय तहहरुमा लगाइरहेको कोरोनाविरुद्धको खोप केन्द्रहरुमा देखिएको भिडले झनै संक्रमण फैलिने जोखिम बढेको छ । संक्रमित संख्या बढी रहेका जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी राख्नुका साथै स्थानीय तहहरुलाई लकडाउन गर्ने अधिकार हस्तान्तरण गरेको छ ।

जसले संक्रमितको संख्या बढ्दै गएकोले मोरङको लेटाङ नगरपालिकाले सोमबारदेखि एक साता नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । उर्लाबारी नगरपालिका सिल गरिसकेको छ । यस्तै, झापको १० वटा स्थानीय तहले समेत कोरोना नियन्त्रण तथा रोकथामका लागि सिल गरेको छ ।

सरकारले सीमा नाका सिल गरे पनि सहायक तथा चोर नाकाहरुबाट सर्वसाधारण भारततर्फ जाने आउनेको घुइँचो लाग्ने गरेको छ । जिल्ला प्रशासनहरुले धर्म, संस्कृतिलगायत मन्दिरहरु बन्द गर्न निर्देशन दिए पनि साउनमा शिव मन्दिरहरुमा जल चढाउनेको घुइँचो लाग्ने गरेकाले कोरोना संक्रमण तिब्र रुपमा फैलिएर स्थिति भयावह बन्ने देखिएको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिडेण्टेण्ट डा. चुमनलाल दासले बताए । उनले भारतमा कोरोनाको तेस्रो भेरियन्ट तिव्र रुपमा फैलिरहेकोले सीमा नाका पूर्ण रुपमा बन्द गरेर स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ अपनाउनुको विकल्प नभएको बताउनुभयो ।

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख, १४ वटै जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

कोभिड–१९ को सम्भावित तेश्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाको तेश्रो लहरमा बालबालिका बढी जोखिममा रहने विज्ञहरुको भनाइ सार्वजनिक भइरहेकोले त्यही अनुसार तेस्रो लहरलाई परास्त गर्ने गरी तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

‘कोरोनाको तेस्रो लहर अत्यन्तै खतरनाक भएर आउने भएकाले प्रदेशवासीलाई त्यसबाट जोगाउने दायित्वबाट कसैले पञ्छिन मिल्दैन,’ मन्त्री राईले भन्नुभयो, ‘हामी तयारी अवस्थामै थिएनौं भन्ने छुट कसैलाई हुँदैन त्यसैले अहिले आइपरेको समस्या र चुनौतीको सबैले मिलेर समाधानमा जुटौं ।’

मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताउनुभयो । प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आ–आफ्ना जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित सम्पूर्ण जानकारी र आवश्यक माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न उहाँले निर्देशन दिनुभएको छ ।

Back to top button