छिन्नमस्ता सखडा भगवतीको मुकुटसहित मण्डल पक्राउ

राजविराज । मुलुककै प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता सखडा भगवतीको चोरी भएको मुकुटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । विष्णुपुर गाउँपालिका ५ मझाउका राजेशकुमार मण्डललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले मण्डलले आज बिहान मझाउमा आफूले छिन्नमस्ता सखडा भगवतीको मुकुट ल्याएको र मन्दिर स्थापना गर्ने भन्दै हल्ला गर्दै हिँडेपछि नियन्त्रणमा लिएको बताउनुभयो ।

मण्डलले चोरेर लगेको चाँदीको ७५० ग्रामको मुकुट, सुनको टीका र नथिया बरामद भएको धमलाले बताउनुभयो । मन्दिरका पुजारीले मन्दिरमा सन्ध्या पूजाका लागि पोखरीमा जल लिन गएको बेला मण्डलले मुकुटलगायतका सामग्री चोरी गरेर लगेको उहाँले बताउनु भयो ।

घटना लगत्तै प्रहरीले पूजाको पालोमा रहेका तीन जना पुजारीलाई नियन्त्रणमा लिनुका साथै सीमा नाका सिल गरेर घटनाको अनुसन्धान थालेका थिए ।

Back to top button