धान खेतमा महिलाको शव बरामद

विराटनगर । धनपालथान गाउँपालिका ४ मा एक महिलाको शव धान खेतमा बरामद भएको छ । स्थानीय ३५ वर्षीया जानकीदेवी मुखियाको शव बरामद भएको हो । हिजो साँझ जानकीदेवीले पालेको हाँस घर नआएपछि साँझ ७ः३० बजे खोज्न निस्केको तर फर्के नआएपछि परिवारका सदस्यले खोजी गर्न जाँदा घर नजिकैको धान खेतमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

परिवारजनले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको तर प्रहरी घटनास्थल पुग्नुभन्दा अगाडि नै परिवारजनले महिलाको शव उठाएर घरमा ल्याइसकेकोले पोष्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले बताउनुभयो ।

महिलाको आँखाको डिलमा चोट रहेको, नाकबाट रगत निस्केको र मुखबाट फिँज आएको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ ।

शनिबार पनि जानकीदेवीको हाँस हराउँदा छिमेकीसँग विवाद भएको थियो । त्यही विवादले केही भन्ने आशंकामा स्थानीय ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाई मुखिया र उहाँकी पत्नी सती मुखियालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो ।

Back to top button