महाकालीमा युवक बेपत्ता घटना छानबिनका लागि गृह मन्त्रालयको टोली घटनास्थल जाँदै

काठमाडौं । भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा व्यास नगरपालिका २ का जयसिंह धामी बेपत्ता भएको घटना छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको छानबिन टोली आज घटनास्थलतर्फ जाँदै छ । छानबिन समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो ।

छानविन समिति आज धनगढीमा बसेर भोली मात्रै घटनास्थल पुग्ने र त्यसपछि टोलीका सबै सदस्यले छलफल गरेर छानबिन सुरु गर्ने कार्यतालिका रहेको गौतमले बताउनुभयो ।

सहसचिव गौतम नेतृत्वको समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहनुभएको छ ।

Back to top button