नेकपा एमालेको स्थायी कमिटी बैठक अपरान्ह बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज अपरान्ह बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा ३ बजेका लागि बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुने छ । उहाँले केन्द्रीय विभागहरुले पूर्णता पाउने सम्भावना रहेको बताउनुभयो ।

माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने सम्भावना रहेको तामाङले बताउनुभएको छ । बैशाख १० गते विघटित १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले विभागीय जिम्मेवारी दिएको थियो । जसमा पूर्वमाओवादी नेताहरु समेतले विभागीय जिम्मेवारी पाउनुभएको छ ।

हिजोको बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको छ । बैठकले काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै, सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ ।

Back to top button