प्रदेश १ मा १० दिनमा १०५ संक्रमितको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो १० दिनमा कोरोना संक्रमणले १०५ जनाको मृत्यु भएको छ । जसमा ५० महिला र ५५ पुरुषको संक्रमणले मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समय यस प्रदेशमा संक्रमितको संख्यामा निरन्तर वृद्धि भएसँगै संक्रमितको मृत्यु दरमा पनि वृद्धि भएको हो ।

हिजो ९२२ जनामा संक्रमण पुष्टि हुँदा १२ जना संक्रमितको मृत्यु भएको छ । मंगलबार ९६३ जनामा संक्रमण हुँदा १२, सोमबार ७७३ जनामा संक्रमण पुष्टि हुँदा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, आइतबार ७२५ जनामा संक्रमण हुँदा १७, शनिबार ८०४ जनामा संक्रमित थपिँदा ६, शुक्रबार १ हजार १४४ जना संक्रमित थपिँदा १०, बिहीबार १ हजार १०४ जनामा संक्रमण हुँदा ६, साउन १३ गते १ हजार १८० संक्रमित थपिँदा १४ र साउन १२ गते १ हजार २७० संक्रमित थपिँदा ९ र साउन ११ गते १ हजार ११६ जनामा संक्रमण हुँदा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा कोरोना संक्रमणले ५३३ महिला र १ हजार ११२ पुरुष गरी कूल १ हजार ६४५ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ का १ हजार ४९७ र प्रदेश बाहिरका १४८ जना रहेको मन्त्रालयका प्रवक्ता सदानन्द भट्टराईले बताउनुभयो । यस प्रदेशमा हाल ७ हजार ६३० जना सक्रिय संक्रमित रहेको उहाँले बताउनुभयो । हालसम्ममा ८६ हजार ६८० जनामा कोरोना संक्रमण भइसकेको उहाँले बताउनुभयो ।

कोशी अस्पतालका डा. रोशन खड्काले अहिलेको कोरोनाको भेरिउेन्ट कडा भएकाले सामान्य अवस्थाका र युवाहरुको समेत मृत्यु भइरहेको बताए । उनले कोरोना नेगेटिभ आइसक्दा पनि अक्सिजन लेभेल घट्ने जस्ता समस्या आउने गरेको बताउनुभयो ।

‘अहिलेको कोरोनाको भेरियेन्ट कडा भएकाले त्यसबाट सबैलाई जोगिनुको विकल्प छैन,’ डा. खड्काले भन्नुभयो, ‘संक्रमितको मृत्यु दर घटाउनका लागि सबभन्दा भरपर्दो माध्य भनेको कोरोनाविरुद्धको खोप नै हो ।’ खोप लगाएका व्यक्तिहरु संक्रमित भए पनि जोखिम कम हुने गरेको अहिलेसम्म देखिएको उहाँले बताउनुभयो ।

यसका साथै तेस्रो भेरियेन्ट आउन नदिन सक्दो चौतर्फी कडाई गर्नुको विकल्प नभएको डा. खड्काको भनाई थियो । उनले अहिले नै यति धेरै मानिसको मृत्यु भइरहेकोले तेस्रो भेरियेन्ट आउँदा हाम्रो संरचनाले सम्हाल्ने अवस्था नरहने सबैले बुझ्नु आवश्यक रहेको बताउनुभयो ।

प्रदेश १ स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले उपचारको प्रयाप्त वयवस्था हु“दा पनि पछिल्लो समय कोरोना संक्रमितको मृत्यु दर बढ्दै गएको स्विकार्नुभयो । ‘अहिलेका कोरोनाका भेरियेन्ट कडा भएकाले उपचारको प्रयाप्त व्यवस्था हुँदाहुँदै पनि संक्रमितको मृत्यु हुने क्रम बढेको हो,’ उहाँले भन्नुभयो, ‘संक्रमित बिरामीलाई समयमा अस्पताल भर्ना गर्न ढिलाइ गरेकाले पनि संक्रमितको मृत्यु हुने गरेको छ ।’

सामाजिक विकास मन्त्री उषाकला राईले कोरोना संक्रमितलाई उपचारको प्रयाप्त व्यवस्था गरेर मृत्यु हुनबाट जोगाउने उपाय अपनाउँदै आएको बताउनुभयो । उहाँले अहिले कोरोना संक्रमणले भइरहेको मृत्यु दर न्यूनीकरणका लागि संक्रमित बिरामीलाई समयमै अस्पताल भर्ना गर्ने, अस्पतालमा उपचारमा कुनै किसिमको लापरवाही हुन नदिन अनुगमनलाई कडाई गर्ने व्यवस्था गरेको बताउनुभयो ।

मन्त्री राईले कोरोनाविरुद्धको खोप नै अन्तिम विकल्प भएकोले त्यसका लागि संघीय सरकारले पनि निरन्तर पहल गरिरहेकोले चाँडै खोपको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेशमा आइसकेका खोप धमाधम लक्षित वर्गलाई लगाउने काम गरिरहेको बताउनुभयो ।

Back to top button