प्रदेशसभा सदस्यको जोड, बैठक भत्तादेखि अनियमितता छानबिनसम्म

विराटनगर । प्रदेश १ सभामा जारी बजेट अधिवेशन अन्तर्गत आजको बैठकको शून्य सभामा प्रदेशसभा सदस्यहरुले पुल निर्माणमा भएको अनियमितादेखि प्रदेशको नामाकरण, कोरोना भाइरस संक्रमणको उपचार र प्रदेशसभा सदस्यहरुलाई यातायात खर्चसम्मको कुरा उठाउनुभएको छ ।

प्रदेशसभा सदस्य बिमल कार्कीले उदयपुरको त्रियुगा नदीमा निर्माणाधिन पुल यस वर्षको बाढीले बगाएको तर्फ ध्यानाकृष्ट गराउनुभएको छ । उहाँले ५ औं पटक म्याद थप गरेको उक्त पुल २०७७ साल असारसम्ममा बनाइसक्नु पर्ने भएपनि अझै सम्पन्न नभएको भन्दै अझ यसपटकको बाढीले ४ वटा स्ल्याब बगाएको बताउनुभयो ।

उहाँले पुलको लागत मूल्य ९ करोड ७६ लाखबाट बढेर ११ करोड २७ लाख पुगेको भन्दै पुल अत्यन्तै महगों भएको बताउनुभयो । डबल स्ट्याण्डरको मूल्य किन भइरहेको भन्ने जिज्ञासा राख्दै उहाँले स्वतन्त्र छानविन आयोग गठन गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो,‘ प्रदेशस्तरीय संसदीय छानबिन समिति गठन गरेर छानबिन गर्न माग गरेको छु ।’

यस्तै प्रदेशसभा सदस्य राधा थापाले विदेशमा खुन पसिना बगाएर घर फर्किएका नेपाली युवालाई भन्सारले रोक्ने गरेको भन्दै रोक्नेलाई छानबिन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँले महाकाली नदीमा तुइन काटेर वेपत्ता भएको घटनामा समेत छानबिन गरी दोषीमाथि कारवाही गरिनुपर्ने बताउनुभयो ।

यस्तै कोरोना भाइरसको संक्रमणले बिरामी भएकाहरुले सामुदायिक अस्पतालमा सिटामोल खाँदा खाँदै ज्यान गुमाउनु परिरहेको भन्दै उहाँले सरकारी अस्पतालमा सरकारले अनुगमन टोली बनाएर छानबिन गर्न माग गर्नुभएको छ ।

प्रदेशसभा सदस्य लोकप्रसाद संग्रौलाले चार बर्ष बितेपनि प्रदेशसभाले नाम दिन नसकेको भन्दै के कारणले प्रदेशको नाम हुन नसकेको भन्दै जिज्ञासा राख्नुभएको छ । उहाँले भन्नुभयो,‘आत्मविश्वासको अभाव, दृढताको अभाव, के कारणले छक्यो ? यो विषयलाई किन रुल गरिदैन? प्रदेशको नामाकरण गर्न नसक्दा प्रदेश नै कमजोर जस्तो अनुभूती भएको उहाँले बताउनुभयो ।

यस्तै उहाँले प्रदेशसभा सदस्यहरुलाई यातायात खर्च र बैठक भत्ताको ब्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ । ‘लुट्न भुट्न सबै मिल्छ तर सांसदलाई भत्ता दिन मिल्दैन ?

उँहाले प्रश्न गर्दै भन्नुभयो,‘चार लेन सडक निर्माणमा भएको ढिलाइले गाडी चढेर सरर बैठकमा आउन समेत नपाइने भयो ।’ उहाँले प्रदेशको नामाकरण गर्न नसकेर प्रदेशको नाम १ नम्बर भनेर नै कार्यकाल नसकियोस भन्दै त्यसतर्फ तदारुकता देखाउन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य सन्जाकुमारी दनुवारले शून्यसमयको दुरुपयोग भएको बताउनुभयो । शून्यसमयमा उठाएका कुराहरुलाई सम्बोधन नहुने गरेको भन्दै उहाँले शून्य समयको व्यवस्था नराखे हुने भन्दै ब्यङ्ग्य गर्नुभयो । उहाँले केपी ओलीको सरकारले देशलाई तहसनहस पारेको अवस्थामा भूमि सम्बन्धी समस्या समाधान आयोग मिलाएर लैजान विघटन गरिएको बताउनुभयो ।

Back to top button