संक्रमितको संख्या बढ्दै गएपछि उर्लाबारीमा लकडाउन

विराटनगर । कोरोना संक्रमणको दर बढ्दै गएपछि मोरङको उर्लाबारीमा लकडाउन गरिएको छ । नगरपालिकाले आजबाट लकडाउन गरेको हो । लकडाउनको समयमा उर्लाबारीका सबै बजार पसल बन्द छ । कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि खुकुलो बनाउँदै लगिएको निषेधाज्ञा कडाई गरिएको हो ।

कोरोना संक्रमणको जोखिम बढेपछि एक सातासम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ । लकडाउनलाई पालना गराउन बिहानैदेखी नगर प्रहरी र स्थानीय प्रशासन खटिएका छन् । लकडाउनको अवज्ञा गर्नेलाई बिहानैदेखी कारबाही सुरु गरेको उर्लाबारी नगर प्रहरी प्रमुख याम कार्कीले जानकारी दिनुभयो ।

उर्लाबारीमा लकडाउनलाई कार्यान्वयन गराउन बिहानैदेखी प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्ग बाहेक सहायक सडक खण्ड, बजार पसल सबै बन्द गराईएको उहाँले बताउनुभयो । लकडाउनको अवधिमा औषधिजन्य पसल, अस्पताल, फोहोरमैला व्यवस्थापन, दुध डेरी र खानेपानी उद्योगबाहेक अन्य सबै पसल, व्यवसाय बन्द गरिएको छ ।

यस्तै, विद्यालय, क्याम्पस, विश्वविद्यालयको परीक्षा दिन जाने परीक्षार्थीहरुलाई स्थानीय प्रहरी प्रशासनबाट प्रवेश पत्रको जाँचबुझ गरी सहजरुपमा परीक्षा हलसम्म जाने अनुमति दिइने छ । उर्लाबारीमा कोरोनाको दोश्रो लहरमा ४८ जनाको मृत्यु भईसकेको छ । नगरमा पछिल्लो समयमा संक्रमितको संख्या अध्यधिक बढिरहेको छ ।

Back to top button