प्रदेश सांसदको गुनासो : नाम, ठाम र दाम केही पनि पाएन

विराटनगर । प्रदेश सरकार गठन भएको चौंथो वर्ष बित्न लाग्दा पनि अहिलेसम्ममा प्रदेशले नाम, ठाम र दाम केही पनि नपाएको प्रदेश सांसदले गुनासो पोख्नुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रदेश सांसद लोकप्रसाद संग्रौलाले प्रदेश सरकारको म्याद अब एक वर्ष मात्रै बाँकी रहेको अवस्थामा पनि नाम, ठाम र दाम पाउन नसकेको बताउनुभएको हो ।

‘प्रदेशसभामा प्रवेश गरेको चार वर्ष भएको छ तर यो प्रदेशसभाले नाम, बस्ने ठाउँ र दाम पनि दिएन,’ उहाँले भन्नुभयो, ‘के कारणले प्रदेशको नामकरण हुन सकेन । आत्मविश्वासको अभाव हो की दृढताको अभाव हो ? के कारणले छक्यो ? यो विषयमा सभामुख ज्यूबाट किन रुलिङ्ग गरिँदैन ?’ प्रदेशको नामकरणका लागि सभामुखले रुलिङ्ग गरेर भए पनि तदारुक्ताका साथ अघि बढ्नु आवश्यक भएको संग्रौलाको भनाई थियो ।

उहाँले अहिलेसम्म प्रदेश कहाँ छ भन्ने पनि ठाउँ स्थापित हुन नसकेको बताउनुभयो । अहिले बन्दै गरेको प्रदेशसभा भवन पनि कभर्ड हल जस्तो बनाइएको प्रति उहाँले विरोध बताउनुभयो । ‘प्रदेशसभा हललाई कभर्ड हल जस्तो कुन इञ्जिनियरिङ्गले बनाए होला ?,’ संग्रौलाले भन्नुभयो, ‘प्रदेशसभा हल चानचुनै विषय नभएकोले यसलाई ठीकस“ग बनाउनु आवश्यक छ किनकी एउटै संरचनाका लागि पटक पटक लगानी गर्नु हुँदैन ।’

प्रदेश सांसदहरुले दाम पनि पाउन नसकेको भन्दै उनले गुनासो पोखे । ‘प्रदेश सांसदलाई प्रदेश सरकारले यातायात खर्च र बैठक भत्ता किन दिएन होला,’ संग्रौलाले भन्नुभयो, ‘प्रदेश सरकारले लुट्न भुटन सबै मिल्छ तर सांसदलाई भत्ता दिन मिल्दैन ?’ प्रदेश सरकारले कोरोना महामारीका कारण प्रदेशको बजेट संकुचित भएपछि चालु आर्थिक वर्षमा प्रदेशमा सबै खाले भत्ता बजेटमार्फत नै कटौति गरेको छ ।

प्रदेश सांसदहरुले प्रदेशसभा बैठकमा आउन जानका लागि पटक पटक आवाज उठाउँदै आएका छन् । अधिकांश सांसद आ–आफ्ना घरबाट नै प्रदेशसभा बैठकमा सहभागी हुन आउने गरेकाले यातायात खर्चको माग गर्दै आएका हुन् । तर प्रदेश सरकारले प्रदेशसभादेखि १५ किलोमिटर टाढा घर भएका प्रदेश सांसदहरुलाई मासिक १५ हजार आवास सुबिधा उपलब्ध गराउँदै आएको छ ।

Back to top button