तुइनबाट खसेका धामीको ड्रोनबाट खोजी गरिने

काठमाडौं। तुइन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीलाई ड्रोनको प्रयोग गरेर खोजिने भएको छ ।

सुरक्षा निकायले ड्रोनको प्रयोग गरेर धामीको खोजि गर्ने बताएको छ । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखे पनि अहिलेसम्म शव नभेटिएपछि ड्रोनको प्रयोग गर्ने तयारी भइरहेको हो ।

सुरक्षाकर्मीले निरन्तर खोजी जारी राखेको भएपनि अबस्था पत्ता नलागे पछि ड्रोन मार्फत खोज्न लागिएको हो ।

सरकारले गठन गरेको छानबिन समितिकी सदस्य समेत रहनुभएकी दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले छानबिन समितिले एकपटक ड्रोन क्यामरामार्फत खोजी गर्ने निर्णय गरेर खोजि गर्न लागिएको जानकारी दिनुभयो ।

साउन १९ गते खलङ्गा पुगेको सरकारी उच्चस्तरीय छानबिन समितिले पनि छानविनलाई निरन्तरता दिइरहेको छ ।

समितिका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले ड्रोन क्यामरा लिएर सुरक्षाकर्मीको टोली दार्चुला पुगेको बताउनुभयो ।

Back to top button