पार्टीको काम नरोक्नुस्, आउनेलाई जिम्मेवारी दिनुहोस् : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कसैलाई पर्खेर नबस्ने बताउनुभएको छ ।

आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले एमालेमा फर्किएर काम गर्न चाहनेका लागि जहिले पनि स्वागत रहेको भन्दै तल्ला कमिटीका गतिबिधिहरु नरोक्न निर्देशन दिनुभयो ।

उहाँले पार्टी जेठ २ अघिकै अवस्थामा पुगेको भन्दै माधव नेपाल पक्षमा लागेका तर पार्टी काममा आउन चाहनेलाई विना संकोच काममा लगाउन समेत उहाँले निर्देशन दिनुभयो ।

ओलीले बैठकमा भन्नुभएको छ,‘तलका कमिटीका काम विल्कुल नरोक्नुस, आउने साथीहरुलाई विना संकोच काम दिनुस् तर कहिले आउलान् भनेर पर्खेर नबस्नुस् ।’

ओलीले माधव नेपालबाट यसपटक भएको गल्ति सानो तिनो नभएको भन्दै अझै पनि आफूले माफी दिएको बताउनुभयो । विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको उहाँले दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले माधव नेपाल पक्षले उल्टै केपी ओलीलाई सच्चिने अन्तिम मौका भनेर फरमान जारी गरेको भन्दै अब सैह्य नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई तथानाम भनेको भन्दै आक्रोस पोख्नुभएको छ । सबै कुरा भनिसकेपछि पनि आफूलाई मेलमिलाप नगरेको आरोप लगाएको टिप्पणी गर्नुभयो ।

ओलीले नेता नेपाल आवद्ध सत्तारुढ गठबन्धनतर्फ लक्षित गर्दै यसको संस्कृति प्रगतिशिल र जनपक्षीय शक्तिका विरुद्ध आक्रमण गर्ने रहेको आरोप लगाउनुभयो ।

Back to top button