महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

काठमाडौं । १४ औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक वुढानिल्कण्डस्थित सभापति शेरबहादुर देउवा निवासमा बस्दै छ ।

पार्टीको क्रियाशील सदस्यता विवादले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्धारित कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका सार्वजनिक गर्न बैठक बसिरहेको एक नेताले बताउनुभयो । निर्धारित कार्यतालिका अनुसार महाधिवेशन नहुने भएपछि शिर्ष नेताहरु महाधिवेशनको मिति सार्न सहमत भएकाले नयाँ कार्यतालिकाका लागि अहिले छलफल भइरहेको छ ।

देउवा नेतृत्वको कार्यसमितिको म्याद भदौ २३ गतेदेखि समाप्त हुँदैछ । राजनीतिक दलको प्रादेशिक र केन्द्रीय पदाधिकारी ५ वर्ष ६ महिनाभित्र निर्वाचित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

Back to top button