विदेशमै हुँदा एसईई उतीर्ण

जनकपुरधाम । वैदेशिक रोजगारीमै भएको समयमा सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्तको बर्ष एसईई परीक्षामा २.७५ जिपिए आएको छ । सन्त रोजगारीका लागि ६ वर्षअघि मलेसिया जानुभएको हो ।

सप्तरीको सप्तकोशी नगरपालिका– १० का सन्त स्थानीय जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई उतीर्ण हुनुभएको हो ।

एसईई परीक्षा फारम भर्दा विद्यार्थी स्वयम् उपस्थित हुनुपर्नेछ । तर विद्यालयका सहयोगी रहेका बुवा रामप्रसाद सन्त र प्रधानाध्यापक श्याम चौधरीको मिलोमतो भएको चर्चा भएको छ ।
सप्तकोशी नगरपालिकाको शिक्षा शाखाले विदेशमा रहेका व्यक्ति कसरी एसईई उत्तिर्ण भए भन्ने विषयमा ‘विरण खुलाइ पठाउन’ विद्यालयलाई पत्र काटेको छ ।

शिक्षा अधिकृत रमेश कुमार खड्काले विद्यालयलाई काटेको पत्रमा भनिएको छ, ‘सम्बन्धित विद्यार्थीको प्रयोगात्मक परीक्षा कुन प्रक्रियाबाट लिइएको हो ? सम्पूर्ण तथ्य खुल्ने विवरणहरु तयार गरी २ दिनभित्र शिक्षा शाखामा पेश गर्नु हुन निर्देशानुसार अनुरोध छ ।’

साउन २६ गते नै विद्यालयलाई शिक्षा शाखाले पत्र पठाएर दुई दिन भित्र विवरण माग गरेको हो । शिक्षा अधिकृत खड्काले विद्यालयबाट मागेको जवाफ अहिलेसम्म प्राप्त नभएको बताउनुभयो ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख विजय मण्डलले विदेशमा रहेको व्यक्ति एसइई उतीर्ण भएको गुनासो आएपछि विद्यालयसँग विवरण मागेको र पुष्टि भए प्रधानाध्यापकलाई कारवाही हुने बताउनुभयो ।

Back to top button