कांग्रेसको विधान संसोधन ,पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने

काठमाडौं । नेपाली कांग्रेसले विधान संसोधन गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने ब्यवस्था गरेको छ । पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेशनका सदस्य हुने प्रावधान रहेकोमा संसोधन गरेर वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने ब्यवस्था गरेको हो ।

आसन्न महाधिवेशनबाट अनुमोदन गराउने गरी विधानमा संशोधन गरेको कांग्रेसले जनाएको छ ।

विधानमा गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली कांग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली कांग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य भनिएकोमा विधान संसोधन भएर गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि  उल्लेख गरिएको हो ।

विधान अनुसार एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यमध्येबाट कम्तिमा तीन महिलसहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

त्यस्तै १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा थप दुई महिलासहित ६ जना प्रतिनिधि चयन गर्न पाउने प्रावधान छ ।

कांग्रेसको क्रियाशील सदस्यता लिएको दुई वर्षको सदस्य पालिका सभापतिको उम्मेदवार बन्न पाउने व्यवस्था थियो । तर विधान संसोधन भएर गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधि मात्रै हुन पाउने गरी विधान संशोधन गरेको छ ।

गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ । कांग्रेसले अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भन्ने उल्लेख गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने जनाएको छ ।

कांग्रेस महाधिवेशन गराउने निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिका केन्द्रीय सदस्यहरुको सुझाव समेट्ने गरी पारित भएको हो ।
कांग्रेसले समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई परिमार्जनको जिम्मा दिएको हो । समितिले भदौ १ गते निर्देशिकामा परिमार्जन गरेर भदौ २ गते पार्टी सभापतिलाई बुझाउने कार्यक्रम रहेको छ ।

कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी शनिबार कार्यतालिका सार्वजनिक गरेको छ ।

Back to top button