न्यायको वकालत गर्ने बेलायतद्वारा गोर्खाहरुमाथि अन्याय

विराटनगर । न्यायको जननी भन्दै न्यायका लागि वकालत गर्ने बेलायतले गोर्खाहरुप्रति ठूलो अन्याय गरेको प्रदेश १ सभामा आइतबार प्रदेश सांसदले आवाज उठाउनुभएको छ ।

२११४६८२४ गञ्जमणी राईका नाति र २११५८४०२ रामशंकर राईका छोरा प्रदेश सांसद राजन राईले न्याय, स्वतन्त्रता, मानवअधिकारको जननी भनिने बेलायतले गोर्खाहरुप्रति अत्यन्तै अन्याय गरिरहेको बताउनुभएको हो । पूर्व गोर्खा सैनिकका नाति र छोरा राईले बाहिरबाट हेर्दा गोर्खा सैनिकको झ्ल्याकझुलुक राम्रो देखिएला तर भित्रको पिडा भनिनसक्नु किसिमको रहेको गुनासो पोख्नुभयो ।

गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, पुष्पा राणा घले र धन गुरुङले बेलायको प्रधानमन्त्री कार्यालय अगाडि अहिले आमरण अनसनमा बसिरहेका छन् । ‘यति बेला गोर्खाहरुको आन्दोलन अन्तर्राष्ट्रियकरण भइरहेको र बेलायतका विपक्षी लेबर पार्टीले पनि गोर्खाहरुको आन्दोलनप्रति समर्थन जनाइरहेको बेला सुनौलो अबसर प्राप्त भएको छ,’ राईले भन्नुभयो, ‘त्यसैले नेपाल सरकारले पनि यति बेला गोर्खाहरुको माग पूरा गराउन चौतर्फी पहल गर्नुपर्छ । यदी यो मौका छोड्यौं भने भोली इतिहासले हामीलाई माफ गर्ने छैन ।’

गोर्खाहरुको धेरै ठूलो माग समेत नभएको प्रदेश सांसद राईको भनाई थियो । ‘बेलायत सरकारले भनेको कुरो मात्रै पूरा गर्न आमरण अनसन बस्नु परेको छ,’ उहाँले भन्नुभयो, ‘लोकतन्त्र, मानवअधिकार, न्याय, स्वतन्त्रता बेलायतले जन्माएको दावी गर्छ तर बेलायत साच्चै मानवअधिकारको जननी हो भने तिमी आफूले बोलेको बोलकबोल पूरा गरेर देखाऊ । आमरण अनसनमा बस्नेहरुको माग यति नै हो ।’

बेलायतको नेपालीहरुले थोरै नुन खाएका हौंला तर गोर्खाहरुले थोरै नुन का बदला धेरै खुन दिएको राईको भनाई थियो । ‘जसले तिम्रो साम्राज्य बचाउन आफ्नो जीवन अर्पण गरेको छ, आफ्नो छोराछोरी, परिवार वर्षौं छोडेर जंगलमा बसेर युद्ध लडेकाहरुलाई वेवास्ता गर्न मिल्छ ?’ उहाँले भननुभयो, ‘जसले ज्यानको बाजी लगाएर बेलायती साम्राज्य बचाउन प्राणको आहुति दिन अघि बढे, तिनीहरुको सुरक्षा बेलायतको जिम्मेबारी हो ।’

राईले २११४६८२४ नम्बरको गोर्खा सैनिक हजुरबुवा गञ्जमणी राईको मलेसियाको मलाया युद्धमा २६ वर्षको उमेरमा मृत्यु भएको सम्झिनुभयो । ‘मलायाको सेराम्बङमा रहेको चिहानमा हजुरबुवाको मृत्युको कारणमा मलेसियाको कम्युनिष्टहरु दबाउँदा मृत्यु भएको उल्लेख छ,’ उहाँले भन्नुभयो, ‘सात वर्ष अघि चिहान हेरेपछि मलायाका कम्युनिष्टहरुको हजुरबुवास“ग के दुश्मनी थियो होला भन्ने प्रश्न मनमा उब्जियो तर दुश्मनी त बेलायती सम्राज्यसँग थियो ।’ बेलायतले नेपाली र गोर्खामाथि साह्रै धेरै अन्याय गरेको भन्दै आलोचना गरे । उहाँले गोर्खाहरुको माग पूरा गराउन कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Back to top button