नेपाली भाषाशिक्षणमा उपभोग गर्न सकिने नवीन पद्दतिहरू

–भूमिप्रसाद पाठक,

विश्वमा भाषाशिक्षणका क्षेत्रमा विविध किसिमका शिक्षण पद्दति, विधि, प्रविधि र प्रक्रियाहरूको विभिन्न ढंगले शोधखोज, अध्ययन, अनुसन्धान र प्रयोगसँगै परिस्कार र परिमार्जनका कार्यक्रमहरू अवलम्बन हुँदै आएको देखिन्छ । यहिँ सन्दर्भमा कतिपय पद्दति, विधि र प्रविधिहरू समय र प्रयोगका श्रृङ्खलामा सिथिल हुँदै गएका देखिन्छन् । कतिपय पद्दति, विधि र प्रविधिहरू विशेष महत्वका साथ दैनन्दिन प्रयोग र उपभोग हुँदै आएका देखिन्छन् ।

यस्ता प्रविधिहरूमा विभिन्न किसिमका भाषिक प्रयोगात्मक खेल, भाषा प्रयोगशाला, कार्यक्रमबद्ध सिकाइ, कम्प्युटर प्रविधिलाई मुख्य रूपमा लिन सकिन्छ । नेपाली भाषा शिक्षणका सन्दर्भमा उल्लेखित प्रविधिहरूको पूर्णतः उपभोग गरेर शिक्षण गर्न सकिने प्रशस्त सम्भावनाहरू छन् । कतिपय प्रविधिहरू उपभोगमा पनि आइरहेका देखिन्छन् । नेपाली भाषामा खासगरिकन दोस्रो वा विदेशी भाषाको रूपमा शिक्षण गर्न उपयुक्त प्रविधिहरूलाई विभिन्न ढंगले उपयोग गर्न सकिन्छ र प्रभावकारी रूपले भाषिक सीप विकास गर्न सकिन्छ ।

कतिपय भाषिक खेलहरू जस्तै ड्रिल, शब्दजाल प्रतियोगिता, कोठेपद प्रतियोगिता, अन्त्याक्षरी प्रतियोगिता, चिठ्ठा खेल, अक्षर चिनारीसम्बन्धी खेलहरू कुनै प्रारम्भिक तहमात्र सीमित र कुनै क्रमशः स्तरीकृत हुँदै माद्ययमिक तहसम्म पनि उपभोग गर्न सकिनेखालका देखिन्छन् । अक्षर चिनारीसम्बन्धी खेलहरू पूर्वप्राथमिक र प्राथमिक तहका सुरूका कक्षाहरूमा सीमित हुनेखालका देखिन्छन् । अभिनायात्मक खेलहरूलाई स्तरीकृत गर्दै माद्यमिक तहसम्म आवश्यकताअनुसार लैजान सकिन्छ । त्यसैगरि ड्रिललाई पनि माद्यमिक तहसम्म लैजान सकिन्छ ।

शब्दजाल र कोठेपद प्रतियोगितासम्बन्धी खेलहरूलाई माद्यमिक तहसम्म स्तरीकृत गर्न सकिन्छ । अन्त्याक्षरी प्रतियोगिता र चिठ्ठा खेलहरूलाई पनि आवश्यकताअनुसार माद्यमिक तहसम्म प्रभावकारी ढंगले उपयोग गर्न सकिन्छ । तर धेरैजसो यस्ता खेलहरू विशेष गरी प्रारम्भिक तहमै र दोस्रो वा विदेशी भाषाको रूपमा नेपाली शिक्षण गर्दा उपयोगी हुन सक्दछन् ।

भाषा प्रयोगशाला स्थिर सामग्री हो तर यसको उपयोग लेख्य भाषाभन्दा कथ्य भाषाको श्रवण र कथन अभ्यासका निम्ति विशेष उपयोगी हुन्छ । कतिपय प्रसंगमा पहिलो भाषाकै शिक्षण समेत उपयोग गर्न सकिने सम्भावनाहरू रहे पनि विशेष गरी दोस्रो र विदेशी भाषाको रूपमा नेपाली शिक्षण गर्दा नै यो उपयोगी हुने देखिन्छ । यसलाई अझैसम्म नेपाली शिक्षणमा उपभोग गर्न सकिएको छैन । कार्यक्रमबद्ध सिकाइलाई प्रयोगशाला र विभिन्न टेप, टेपरिकर्डर, कम्प्युटर र व्यवस्थित रूपले निर्माण गरिएका पाठ्यपुस्तक वा पाठ्यसामग्रीको सहयोग उपयोग गर्न सकिन्छ ।

प्रारम्भिक कक्षा र दोस्रो वा विदेशी भाषाका रूपमा भाषा शिक्षण गर्नका लागि प्रभावकारी उपभोग गर्न सकिने यो प्रविधि शिक्षकको प्रतिस्थापन गर्ने गलत धारणाका कारणले विश्वव्यापी उपयोग हुन नसकेको अवस्थामा नेपाली शिक्षणमा झन यसको प्रारूप नै तयार हुन सकिरहेको छैन । कम्प्युटरका माध्यमले शिक्षण गर्ने प्रविधि अब विश्वसामु कुनै नौलो प्रविधिको रूपमा छैन ।

बरू, एक अपरिहार्य र अभिन्न प्रविधिको रूपमा दिनप्रतिदिन विकसित हुँदै गएको देखिन्छ । पहिलो, दोस्रो वा विदेशी जुनसुकै भाषा शिक्षणको सिकाइमा उपभोग गर्न सकिने यो प्रविधि अब बिस्तारै नेपाली शिक्षणमा पनि भित्रिन थालेको छ । तर, यसलाई व्यवस्थित गर्न भने बाँकी नै छ । यसलाई मूल शिक्षण प्रविधिभन्दा पनि कक्षा तहगत स्तरीकृत गरेर महत्वपूर्ण सहयोगी प्रविधिको रूपमा स्वीकार गरी उपयोग गरिनु आवश्यक छ ।

उपयुक्त सन्दर्भमा भाषा शिक्षणका सिकाइका पनि कम्प्युटर प्रविधि र हिजोआज अपरिहार्य आवश्यकता र अनिवार्य प्रविधि बन्न गएको देखिन्छ । भाषा शिक्षणका विविध कृयाकलापहरूमा कम्प्युटरको उपभोग गरेर प्रशस्त लाभान्वित हुन सकिन्छ । श्रुतिभाषिक विधि, प्रत्यक्ष विधि, कार्यक्रमबद्ध सिकाइ, प्रयोगशाला आदिमा कम्प्युटरको प्रयोग अनिवार्यजस्तै र अत्यन्तै प्रभावकारी हुन्छ । भाषिक प्रयोग, प्रकार्य र नमुना प्रदर्शनका जीवित प्रक्रियामार्फत विद्यार्थीहरूलाई सरल, सहज र उत्प्रेरक वातावरणमा कम्प्युटरको माध्यमले भाषा शिक्षण गर्न सकिन्छ ।

यसबाट वैयक्तिक र समूहकार्यका रूपमा प्रर्याप्त र सुविधाजनक भाषिक अभ्यास गराउन सकिन्छ । वैयक्तिक वा स्व–अध्ययन भाषिक खेल ड्रिल, अभ्यास अनुकरण, चिन्तन, मनन र खोज, अनुसन्धान, समिक्षण, विवेचन, विश्लेषण, शुद्धिकरण, बोधप्रश्नोत्तर, रचना, सिर्जना, परियोजना आदि यावत् प्रक्रियाहरूमा कम्प्युटरको प्रयोग निकै अग्रगामी र लाभदायिक बनेको पाइन्छ ।

अन्त्यमा, त्यसैगरि अनुवाद, कोश निर्माण, सङ्कलन, विश्लेषण, त्रुटि विश्लेषण, व्याकरण निर्माण, भाषा योजना, पाठ्यक्रम निर्माण, पाठ्यसामग्री निर्माण, शिक्षण सामग्रीको छनौट र उपयोगको शिक्षण विधि र उपयोग मूल्यांकन, परिक्षण मापन र अभिलेखन आदि सबै क्षेत्रमा कम्प्युटर उपभोग अनिवार्य आवश्यकता भएको छ ।

शिक्षक, विद्यार्थी, शिक्षाविद्, विषयविद्, भाषाविद्, प्रशासक, व्यवस्थापक आदि सबैका लागि यो आवश्यकता र सहयोगी साधन बनेको छ । यी सम्पूर्ण सन्दर्भ र भाषा शिक्षणका क्षेत्रमा कम्प्युटर प्रविधिको योगदान र उपयोग अनिवार्य अंगजस्तै बनेको कुराको सहनै पुष्टि गर्न सकिन्छ ।

Back to top button