प्रदेश १ मा नयाँ सरकार गठन हुन्छ : प्रमुख सचेतक कार्की

विराटनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश १ मा अब चाँडै नयाँ सरकार गठन हुने बतााएका छन् ।

कांग्रेस संसदीय दलको तर्फबाट मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले नयाँ सरकार गठनको लागि गृहकार्य सुरु भइसकेको बताउनुभएको छ । ‘मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार दशैं अगाडी नै परिवर्तन हुन्छ,’ उहाँले भन्नुभयो, ‘कसको सरकार बन्छ त्यो भन्दा पनि महत्वपूर्ण शेरधन राई नेतृत्वको सरकार रहँदैन ।’

सरकार परिवर्तन हुने भएकाले नै प्रदेश सरकारले हठात् प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेको उहाँको भनाई छ । ‘सरकार अप्ठयारोमा परेका बेला यसअघि पनि सत्तारुढ दल एमालेका सांसदहरुले नै सदन बहिष्कार गरेका थिए र अहिले पुनः त्यही प्रवृति प्रदेश सरकारले दोहो¥याएको छ,’ उहाँले भन्नुभयो, ‘यही अधिवेशनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने संभावना भएकाले सरकारले हठात् अधिवेशन अन्त्य गरेको हो ।’

अधिवेशन अन्त्य गरेर भए पनि केही समय सरकारको आयु लम्ब्याउन प्रदेश सरकारले बजेट अधिवेशन सभामुख प्रदिपकुमार भण्डारीसँग समेत परामर्श नगरी हतार–हतार अन्त्य गरेको कार्कीको भनाई थियो । प्रदेश सरकारले अहिलेसम्म गरेका गलत कामहरुको फायल मिलान गर्नका लागि पनि अधिवेशन अन्त्य गरेको उहाँको आरोप छ ।

प्रदेश सरकारमा सामान्य राजनीतिक संस्कार समेत नभएको उहाँको आरोप छ । ‘प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता बोल्दा मुख्यमन्त्री उपस्थित हुनुपर्ने हो तर यहाँ समयमा जानकारी गराउँदा समेत मुख्यमन्त्री सदनमा उपस्थित हुँदैन,’ कार्कीले भन्नुभयो, ‘संघीय संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सदनमा बोल्दा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुनुहुन थियो तर यहाँ त्यो संस्कारै बसेन ।’

सरकारको बिरोध हुने बेलामा प्रदेश सरकारले प्रदेश नामकरणको विषय उठाएर प्रदेश सांसदहरुको ध्यान माड्ने प्रवृति बजेट अधिवेशनमा पनि दोहोरिएको कार्कीले बताउनुभयो । प्रदेश सरकारको बिरोध हुन थालेपछि मुख्यमन्त्री राईले प्रदेशसभामा चालुृ अधिवेशनबाटै प्रदेशको नामकरण गर्ने उद्घोष गरेर सदनलाई ढाँट्ने काम गरेको प्रति उहाँले आपत्ति जनाउनुभयो ।

कांग्रेस जुनसुकै बेला पनि प्रदेशको नामकरणका लागि तयार हुँदाहुँदै पनि दुई तीहाईको हैसियतबाट ५१ प्रतिशतमा झरेको एमाले सरकारले प्रदेश नामकरणलाई सत्ता टिकाउन उपयोग गर्ने नीतिमा मात्रै देखिएको कार्कीले टिप्पणी गर्नुभयो ।

Back to top button