![](https://koshisandesh.com/wp-content/uploads/2021/08/Madhav-Kumar-Nepal303.jpg)
![](https://koshisandesh.com/wp-content/uploads/2021/08/Madhav-Kumar-Nepal303.jpg)
काठमाडौं । लामो समयसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै आउनुभएका नेता माधव कुमार नेपाल अन्ततः पार्टीबाट बाहिरिनुभएको छ ।
आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता नेपाल आजदेखि औपचारीक रुपमा एमालेबाट बाहिरिनुभएको हो ।
नेता नेपालको समूहले आज निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराएसँगै उहाँ एमालेबाट बाहिरिनुभएको पुष्टि भएको हो । नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको नेता मेटमणि चौधरीले बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ,‘हामीले नयाँ पार्टी दर्ताको लागि सबै प्रक्रिया पूरा गरेर दिइसकेका छौँ। अब निर्वाचन आयोगबाट स्वीकृती कुरिरहेका छौँ।’ नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको उहाँले जानकारी दिनुभयो ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो।
नेता नेपालको यो निर्णयलाई भने उहाँ निकट रहनुभएका दोस्रो तहका नेताहरुले समेत साथ दिन अस्वीकार गर्नुभएको छ ।