कार्यकर्तालाई बिचलित नहुन एमाले सुनसरीको अनुरोध

इटहरी । नेकपा एमाले सुनसरीले कार्यकर्तालाई विचलित नहुन आग्रह गरेको छ । हिजो साँझ विज्ञप्ति जारी गर्दै एमाले सुनसरीले पार्टीको नामबाट समानान्तर गतिविधि गरिरहेको पाइएकोले सजग हुने कार्यकर्तालाई सुझाब दिएको छ ।

एमालेको नाममा सदस्यता नवीकरणमा अवरोध गर्ने र हतोत्साहित गर्ने काम भएको पाइएकोले त्यसको भण्डाफोर गर्न निर्देश गरिएको हो ।

जिल्ला सचिव पर्शुराम यादवद्वारा जारी विज्ञप्तिमा केही समयमै विधान महाधिवेशन हुने निश्चित भएकोले त्यसको पूर्व तयारी स्वरूप सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई प्राथमिकता दिइएको जनाइएको छ । तर पूर्व एमालेका कार्यकर्ताबाट नवीकरण नगर्नु भनेर भ्रममा पार्ने काम भएको विज्ञप्तिमा उल्लेख छ ।

एमाले भन्दै काँग्रेसलाई भोट हाल्ने प्रवृत्तिको विरुद्ध लाग्न कार्यकर्तालाई परिचालन गरिएको जनाइएको छ । परमादेशबाट बनेको सरकारको विपक्षमा आफूहरू रहेकाले फुटेर गएको एमालेको विरुद्धमा एक भएर लाग्न समेत बिज्ञप्तीमा आग्रह गरीएको छ ।

Back to top button