रंगेलीका मेयर बगडियालाई बर्खास्त गर्ने माओवादी केन्द्रको तयारी

विराटनगर ।नेकपा माओवादी केन्द्र मोरङले रंगेलीका मेयर दिलिप बगडिया लाई मेयरबाट बर्खास्त गर्ने तयारी गरेको छ । माओवादीबाट चुनाव जितेको बगडिया एमाले प्रवेशको तयारी गरेपछि उहाँलाई कारवाहीको तयारी माओवादी केन्द्रले गरेको हो ।

उहाँ सचिवालय सदस्य तथा रंगेलीका इन्चार्ज समेत रहनु भएको थियो । साउन २३ को माओवादीको जिल्ला कमिटी बैठकले उहाँलाई यो जिम्मेवारीबाट भने हटाइसकेको छ ।

बगडियालाई तीन दिनको समय राखेर स्पष्टीकरण सोधिएको थियो । तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै कारवाहीका लागि प्रदेश कमिटीमा पठाइएको सचिव गणेश उप्रेतीले बताउनु भयो ।

नगर कमिटीबाट समेत मेयरबाट हटाउन भनेर पत्र आएको छ, पार्टी हितविपरीत गतिविधि गरेको ठहर भएकाले कारवाहीका लागि प्रदेशमा पठाएका छौँ,’ उहाँले भन्नुभयो , ‘अब प्रदेशले केन्द्रीय कमिटीमा सिफारिस गरेपछि केन्द्रले कारवाही गर्छ ।’

मेयर बगडियासहित रंगेली नगरपालिकाका तीनजना वडाध्यक्ष एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । बगडियालाई कारवाही गरिसकेपछि ती वडाध्यक्षहरूलाई पनि कारवाही गरिने माओवादीले जनाएको छ ।

मओवादी केन्द्र प्रदेश सचिव सुरेशकुमार राईले भने पत्र प्रदेश कमिटीमा आइनपुगेको बताउनु भयो । जिल्ला कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको मात्रै जानकारी आएको र बाँकी विषय थाहा नभएको उहाँले बताउनु भयो । ‘सिफारिस आए थप बुझेर अगाडि बढ्छौँ,’ उहाँले भन्नु भयो ।

Back to top button